• २४ माघ २०८२, शनिबार

म मोबाइलको घडी होइन (कविता)

blog

म– तिम्रो समयको दास होइन ।

तिमी उठ्ने बेला बिहान भइदिन

तिमीलाई निद्रा लाग्दा रात हुन

तिमी एक्लो हुँदा 

तिम्रो एकान्तलाई शान्त बनाइदिन

म– तिम्रो इच्छाको बन्दी होइन ।

सँगै पुग्न मन छ भने

सँगै हिँडौँ ।

तिमीलाई चाहिँदा घाम झैं चम्कन

तिमीलाई स्वर्ण मृग चाहिँदा राम हुन

तिमीलाई चाहिँदा शीतल बतास झैं चल्न

तिमीलाई नचाहिँदा जिउँदो लास बन्न

म– तिम्रो स्वार्थको सेना होइन ।

मलामी बन्न मन छ भने

जन्ती बनौँ ।

मलाई 

तिम्रो जीवनको इन्द्रेणी बनाएर

मेरा भावनाका अक्सिजन सबै सोसेर

कार्बनडाइअक्साइड झैँ फालिने 

म– तिम्रो समयको सास होइन । 

म– घाम डुबेपछिको साँझ हुँ

मलाई मेरै बेग र रङ मन पर्छ

म– साँझपछिको रात, रातपछिको बिहान हुँ

मलाई मेरै जीवनचक्र मन पर्छ ।

म– मेरै अन्धकारको राग हुँ

मलाई मेरै शान्ति र सन्नाटा मन पर्छ ।

म– आफ्नै सीमाभित्रको आकाश हुँ

मलाई मेरै छायामा उभिने रूख मन पर्छ ।

म– तिम्रो हातको नाडी

तिमो घरको भित्ता

मोबाइलको वालपेपरको घडी होइन ।

मेरै गतिमा

मेरै समयमा चल्ने

म– समय हुँ ।