• २४ माघ २०८२, शनिबार

कुलुङ जातिका युवा ‘तुसः’ मा साट्थे पिरती

blog

भनिन्छ, कृषि युगपछि नै मानव समाज स्थायी रूपमा एकै ठाउँ बस्न सुरु गरेका हुन् । कृषिकर्ममा मानव युग प्रवेश गरेपछि श्रमले प्राथमिकता पाउन थाल्यो । उत्पादनका लागि काम गरेपछि स्वाभाविक रूपमै थकाइ लाग्ने भयो । त्यसरी थकाइ लागेपछि मानिसलाई थकान मेट्न र मनोरञ्जन गर्न मन पनि लाग्ने नै भयो । हो, त्यसरी कृषिकर्म गर्ने क्रममा थकान मेट्न एवं मनोरञ्जन गर्नकै लागि हाम्रा पितापुर्खा (चाप मुमा/मोमा र चाप फोपा/फपा) ले बाजागाजा, नाचगान, गीतसङ्गीत आदि सिर्जना गरेका हुन् । 

आफ्नो क्षमता र ज्ञान अनुसार सिप विकास गरे, आपसमा सिप साटासाट गर्ने, गाउने, नाच्ने, ख्यालठट्टा गर्ने, हँसीमजाक गर्ने प्रचलन सुरु गरे । खुला रूपमा आफ्नो मनको कुरो भन्न नसक्ने भएपछि गीत, ख्याली, उखान, सुसेली पार्ने र उखानटुक्काका माध्यमबाट आफ्नो मनभित्र लुकेर रहेका कुरा भन्न थाले । साथै आफूलाई मन परेको मान्छेलाई बोलाउने अलग्गै उपनाम पनि राख्न थाले, जुन उपनामले आफूलाई मन परेको मान्छेलाई माया गरेर बोलाइन्थ्यो । यस्तो (मायाले उपनामले बोलाउने) प्रचलन त अझै पनि कताकति सुन्ने, देख्ने गरिन्छ ।  

यसरी आफूले मन पराएको मान्छेलाई बोलाउने अलग्गै नाम राख्दिने प्रचलन उहिल्यैदेखि सुरुवात गरे, हाम्रा पितापुर्खा (चाप मुमा/मोमा र चाप फोपा/फपा) ले । एवंप्रकारले आफूले मन पराएको मान्छेलाई आफ्नो मनको कुरो सिधा रूपमा भन्न नसकेपछि गेयात्मक ढङ्गले भन्नलाई गीत, ख्याली, उखान, टुक्का, सुसेली पार्ने, पात बजाउने सिप रचे, कथे । त्यसलाई लय हालेर भन्न, सुनाउन लयको सिर्जना गरे, छोटो रूपमा भाका हालेर गाइने गीत बनाए । लामो भाकामा भन्नलाई ख्याली (दोहोरी) को सिर्जना गरे । साथै आफूलाई मन परेको मान्छेलाई छेडखानी (जिस्क्याउन) गर्न थाले । भनौँ न त्यस्तो प्रचलन त्यसबेलामै सुरु गरे, हाम्रा पितापुर्खा (चाप मुमा/मोमा र चाप फोपा/फपा) ले ।  यो छोटो लेखमा नेपालका प्राचीन किराँती महाजातिभित्रका एक छुट्टै जातिका रूपमा रहेका ‘कुलुङ’ जातिका युवकयुवतीबिच प्रचलनमा रहेको मनोरञ्जन गर्ने र दुःखसुख साटासाट गर्ने माध्यमबारे छोटोमा केही कुरा उल्लेख गरिएको छ । ‘कुलुङ’ जातिमा रहेको मनोरञ्जन गर्ने र दुःखसुख साटासाट गर्ने माध्यमलाई ‘तुसः’ भनिन्थ्यो, भनिन्छ । यसलाई अरू जातजाति, भाषाभाषीका मानिसले छिटो बुझ्ने भाषामा भन्नुपर्दा मगर तथा गुरुङको ‘रोधी’ जस्तै हो । हुन त मगर तथा गुरुङ जातिमा रहेको ‘रोधी’ को प्रचलन शुद्ध रूपमा मनोरञ्जन गर्ने स्थलका रूपमा मात्रै हो कि, रोधीमा भेला हुन आउने युवकयुवतीले आफ्नो सिप विकासको नमुना देखाउने स्थलका रूपमा पनि रहेको थियो ? तर ‘कुलुङ’ जातिमा रहेको ‘तुस’ को प्रचलनले चाहिँ मनोरञ्जन गर्ने र दुःखसुख साटासाट गर्ने माध्यमका साथै कुलुङ युवकयुवतीले आआफ्नो सिप देखाउने स्थलका रूपमा पनि लिइन्थ्यो । जस्तो कि ‘तुसः’ बस्ने दिन निश्चित भएपछि कुलुङ युवकयुवतीले आफूले मन पराएको मान्छे (केटीले केटालाई र केटाले केटीलाई) आफूले बुनेका÷बनाएका विभिन्न सरसामान उपहार अर्थात् ‘मायाको चिनो’ का रूपमा दिने गर्थे । त्यस क्रममा कसले राम्रो सिप देखाउने ? भनेर आफ्नो सिपलाई तिखार्ने मौकाका रूपमा पनि लिइन्थ्यो, ‘तुसः’ लाई । त्यसैले पनि कुलुङ युवकयुवतीबिच कसले राम्रो सरसामान बुन्ने/बनाउने ? भनेर प्रतिस्पर्धा हुन्थ्यो । यस्तो प्रतिस्पर्धाले गर्दा कुलुङ युवकयुवतीबिच उत्कृष्ट सरसामान बुन्ने/बनाउने प्रतिस्पर्धा नै हुन्थ्यो । 

‘तुसः’ मा पिरती

‘तुसः’ बस्ने दिन निश्चित भएपछि कुलुङ युवकयुवतीले आफूले मन पराएको केटालाई दिन ङप्तिरी (बाँसुरी), मिक्तिरी (मुरली), दङ्गम (बिनायो), बिङ्गुम्मा (मुर्चङ्गा), बायुम्मा (काइँयो) आदि सरसामान जुटाउँछन् र ‘मायाको चिनो’ दिन्छन् । 

त्यस्तै केटालाई दिन भनेर केटीले फेङ्गा, (वेस्ट/इस्टकोट), छेक्नाम (मफलर/सल), सिरिप (फुर्का), तप्पी (टोपी) आदि सरसामान दिन्छन् । त्यसरी उपहार अर्थात् ‘मायाको चिनो’ का रूपमा दिइने सरसामान चाहिँ जाखिल (भाङ्ग्रे सिस्नो/अल्लो) को बोक्रा, मालिङ्गो, बाँस, आल्मबुङ (सुनारी) आदिबाट  बनाइन्थ्यो, तयार पारिन्थ्यो ।  साथै केटीले चाहिँ कहिलेकाहीँ (केटीको समूह मिलेर) खाजापानी पनि ल्याउने गर्थे । जस्तो कि हाङ्वा–हाङ्मुवा (रक्सी), दी (जाँड) एवंप्रकारले मौसम अनुसार जस्तै हिउँदयाम भए पाल्कोक्ती (सुठुनी), साम्खे (आलु), तेलखे (घरतरुल), फुम्बा (रोटी), केप्चासी (अचार), चाम्रे (भुटेको भात) आदि ल्याउने गर्थे, आफ्ना मन परेकालाई अन्त्यन्तै मायासाथ खुवाउन भनेर ।    

सल्लाहमा समय

हुन त ‘तुसः’ बस्नलाई कुनै विशेष मौसम वा अवसर नै हुनु पर्छ भन्ने थिएन । तापनि मौसम अनुसारको खेतीपाती र कामपछि खास गरी गाउँघरका युवकयुवतीबिच कहिले र कुन ठाउँमा ‘तुसः’ बस्ने ? भनेर सल्लाह गरेर दिन र ठाउँ तोक्ने प्रचलन चाहिँ रहेको थियो । त्यसरी ‘तुसः’ बस्नलाई खुला ठाउँ जस्तै चौर, ठुलो गरा भएको बारी (हिउँदयाममा), चौतारो, खर्क आदि चयन गरिन्थ्यो र सरसल्लाह गरेर दिन र ठाउँ तोक्ने प्रचलन रहेको थियो । समयको हकमा चाहिँ प्रायः बेलुकी (रातमा) ‘तुसः’ बस्ने प्रचलन रहेको । माथि नै भनिए झैँ ‘तुसः’ बस्ने उद्देश्य नै मनोरञ्जन गर्ने र दुःखसुख साटासाट गर्ने माध्यमका साथै कुलुङ युवकयुवतीले आआफ्नो सिप देखाउने मौका तथा स्थलका रूपमा रहेको हुनाले ‘तुसः’ बस्न भेला भएका कुलुुङ युवकयुवतीले आफूले मन पराएको मान्छे (केटीले केटालाई र केटाले केटीलाई) आफूले बुनेका/बनाएका विभिन्न सरसामान साथैमा लिएर आउने गर्थे । त्यसपछि समूह तथा छुट्टाछुट्टै रूपमा ख्यालठट्टा गर्दै बोल्न, हाँस्न सुरु गर्थे । मनको कुरो भन्नलाई छेडखानी गर्ने, गीत गाउने, ख्याली भन्ने, उखानटुक्का भन्न सुरु गर्थे । साथै आफूलाई मन परेको मान्छेलाई बोलाउने अलग्गै उपनामले बोलाउँथे । कैयौँ दिनको खेतीपातीको चटारो बिर्सेर उनीहरू दुःखसुखका कुरा गर्थे, घरपरिवारको सन्चोबिसन्चोबारे पनि सोध्ने गर्थे । यसरी ‘तुसः’ बस्ने क्रममा पहिलो भेटमै मन परापर भएका ‘सोलोमे र सोलो’ बिच अर्को वर्ष (विशेषतः हिउँदमा) विवाह गर्ने भाका पनि राख्थे । कतिले त आफूले मन पराएको ‘सोलोमे’ वा ‘सोलो’ अर्कोले उछिट्याई पो हाल्ला कि ? भनेर मन परापर भएका ‘सोलोमे र सोलो’ ले तत्कालै विवाह गर्ने गर्थे । सतही रूपमा हेर्दा, सुन्दा ‘तुसः’ बस्नु भनेको केवल मनोरञ्जनात्मक कार्य मात्रै हो कि ? भने जस्तो देखिए तापनि गहन रूपमा हेर्दा ‘तुसः’ बस्ने प्रचलनले कुलुङ समाजमा खास गरी ‘कुलुङ युवकयुवती’ बिच भाइचारा बढाउने, नाता सम्बन्ध गाँस्ने, समाजलाई जीवन्त राख्ने एक सेतुको काम गरेको देखिन्छ । 

हरायो संस्कृति

महाकुलुङ गाउँपालिका–५, चाचालुङका विवश छेन्हो कुलुङका अनुसार २०५२ सालदेखि सुरु भएको हिंसा प्रतिहिंसाको असर नेपालको पूर्वी क्षेत्रमा पुगेपछि (खास गरी २०६०÷६१ सालपछि) महाकुलुङ क्षेत्रमा ‘तुसः’ बस्ने प्रचलन एकाएक हट्यो । महाकुलुङ क्षेत्रमा लाग्ने विभिन्न हाटबजार, मेलासमेत हट्यो÷हटाइयो । हुन त अहिले महाकुलुङ क्षेत्रमा लाग्ने विभिन्न हाटबजार, मेला पुनः सुरु भएको छ तर देशकै एक सांस्कृतिक सम्पदाका रूपमा रहनुपर्ने र हजारौँ वर्षअघि कुलुङका पितापुर्खा (चाप मुमा÷मोमा र चाप फोपा÷फपा) ले कामको चापपछि थकान मेट्ने, आफूलाई मन परेको मायालुलाई भेट्ने, आपसमा माया साटासाट गर्ने, आफ्नो सिप देखाउने स्थलका रूपमा सुरु गरेको ‘तुसः’ बस्ने प्रचलन हटेको मात्रै होइन कि लोप नै भएर गएको छ । हाम्रा भावी पुस्ताका लागि ‘तुसः’ केवल एक लोककथा र मिथकका रूपमा मात्रै सीमित हुने देखिन्छ ।