• २४ माघ २०८२, शनिबार

मतदाताको जिज्ञासा : मल सहज रूपमा कहिले पाउने

blog

सन्तोष दहित

दाङ, माघ २४ गते । आसन्न निर्वाचनका लागि मत माग्न आउने उम्मेदवारलाई दाङको घोराही–१७, गुलरियाका किसान प्रेम चौधरीको  एउटै प्रश्न हुने गरेको छ, मलको अभाव कहिलेसम्म झेल्नुपर्ने हो हामी जस्ता किसानले ? आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार अहिले मतदाताको घरदैलोमा पुगिरहेका छन् ।  प्रेम चौधरी जस्तै हरेक मतदाताले अहिले आफ्ना समस्या किन समाधान हुन सकेका छैनन् र कहिले समाधान हुन्छन् भन्ने जिज्ञासा राख्ने गरेका छन् । 

चौधरीले मत माग्न आएका उम्मेदवार सामुन्ने उभिएर भन्नुभयो, “विकासको कुरा आफ्नै ठाउँमा छ तर हामी किसानलाई खेतीपाती गर्नुपर्ने बेला मल पाइँदैन । खेतीपाती सकिएपछि मात्र मलखाद आउँछ । यस्तो समस्या हामी किसानले कहिलसम्म भोग्ने हो, कि यसको कुनै समाधान पनि छ ?

सहकारीले मल वितरणमा पारदर्शिता नअपनाई नेतासँग नजिक सम्बन्ध भएका व्यक्तिलाई मात्र उपलब्ध गराउने गरेको उहाँले उम्मेदवारसमक्ष गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “धेरै ठाउँमा पक्की कुला निर्माण भइसकेका छन् तर हाम्रा गाउँघरमा कुला निर्माणको योजना किन आउँदैन । चुनावमा मत मात्र माग्ने कि यतातर्फ पनि ध्यान दिने हो ।”

स्थानीय सुशीला चौधरीले पनि विगतका वर्षदेखि निरन्तर मल अभावको समस्या झेल्दै आएको बताउनुभयो । उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “बिउ छर्ने बेला बिउ पाइँदैन, धान रोप्ने बेला मल पाइँदैन । समयमै मल, बिउबिजन र सिँचाइ सुविधा भए हामीलाई धेरै कुरा पनि चाहिएको थिएन ।” किसानको यस्ता गुनासो सुनेपछि नेकपा (एमाले) का तर्फबाट दाङ–२ का उम्मेदवार शङ्कर पोखरेलले समस्या भएको कुरा स्वीकार गर्दै यसको समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सहकारीमार्फत किसानलाई मल वितरण भइरहेकाले यदि कुनै सहकारीले अनियमितता गरेको छ भने त्यसबारे लिखित उजुरी दिनुहोस्, म स्वयम् सहयोग गर्छु ।” उहाँले सहकारीमार्फत मल वितरणको प्रभावकारिता अनुगमन गर्ने जिम्मेवारी स्थानीय सरकार र प्रशासनको भएको बताउनुभयो । किसानलाई सिँचाइ, बिउबिजन र मल वितरणमा सहजता सरकारले ल्याउनुपर्ने उहाँले बताउनुभयो ।