• १२ साउन २०८१, शनिबार

नेपालको अस्थिरताको कारण भूराजनीतिक प्रभाव हो

blog

काठमाडौं, असार ३२ गते । नेपालका राजनीतिक दलका नेताहरुले नेपालमा राजनीतिक अस्थिरता निम्तिनुमा भूराजनीतिक प्रभाव रहेको धारणा राख्नुभएको छ । नेपालको सत्तापलटमा आन्तरिक शक्तिसँगै बाह्य शक्तिको पनि ठूलो असर रहेको बुझाई नेताहरुको छ । राजनीतिक दलका नेताहरु सत्ता स्वार्थमा बढी ध्यान केन्द्रीत गरेकैकारण बाह्य शक्तिले चलखेल गर्ने अवसर पाएको उहाँहरुको भनाइ छ । 

नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) द्वारा शनिबार यहाँ आयोजित नेपालको भूराजनीतिक अवस्था : चुनौति र अवको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा नेताहरुले सो धारणा राख्नुभएको हो ।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारसँग पारवाहन सन्धी गरेबापत, उत्तरी नाका खोलेबापत र चुच्चे नक्सा जारी गरेबापत आफूलाई यसअघि प्रधानमन्त्रीबाट हटाइएको दावी गर्नुभयो । आफूले सो काम गरेपछि अन्य साँठगाँठ हुनसक्ने खतराबारे जानकारी भएपनि सो काम आफूले गरेको उहाँले बताउनुभयो ।

२०२६ सालमा १७ वटा चेकपोष्ट हटाए बापत कीर्तिनिधि विष्टले सत्ता छोड्नुपरेको प्रसँग पनि उहाँले सो अवसरमा स्मरण गर्नुभयो । नेपालको कुटनीति घुँडा टेकेर सत्ता जोगाउने कुटनीति नभएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले बामपन्थी शक्तिबीच एकता गर्ने हो भने गठबन्धन त्यागेर आउन अन्य दलका नेताहरुलाई आग्रह गर्नुभयो । 

नेकपा (एमाओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अहिलेको अवस्थामा बामपन्थी शक्तिबीच तालमेल गरेर अघि बढ्न सकिने बताउनुभयो । मुलुकलाई संकटबाट जोगाउन सबै बामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढनुपर्ने उहाँको भनाइ छ । “नेपालमा बामपन्थीहरु मात्रै देशभक्त शक्ति हुन्, एकअर्कालाई सिध्याउने काम भएमा मुलुक नै संकटमा पर्छ” नेता श्रेष्ठले भन्नुभयो, “बामपन्थी नेताहरुमा भएका कमीकमजोरीबारे आत्मसमीक्षा गरौं, तर तालमेल गरेर अघि बढौं ।” 

पार्टी एकताका लागि तत्काल आधार नबने पनि वामपन्थी दलहरुबीच तालमेल गरेर जान सकिन्छ, बामपन्थी शक्तिहरु देशमा दुई तिहाईभन्दा बढी रहेको उहाँले चर्चा गर्नुभयो । “आन्दोलनको अगुवाई गर्ने शक्तिहरुले एकतावद्ध भएर अरु देशभक्त शक्तिहरुलाई पनि मिलाएर राष्ट्रिय सहमति गरेर देशभक्तिपूर्ण आन्दोलनलाई सही दिशातर्फ अगाडि बढाउनुपर्छ” नेता श्रेष्ठले भन्नुभयो ।

बामपन्थी आन्दोलन सकिएमा नेपालको राष्ट्रियता कमजोर हुनेमा नेता श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो । “वामपन्थीहरुको एकता आवश्यक छ । कमसेकम तालमेल, मोर्चा र त्यसपछि अर्को दिशातर्फ जानुपर्ने आवश्यक्ता छ” उहाँले चर्चा गर्नुभयो । नेपालको परराष्ट्र नीतिलाई स्वतन्त्र बनाउन पनि दलहरुबीचको राष्ट्रिय सहमति आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अध्यक्ष ओली नेतृत्वको सरकारलाई बाह्य शक्तिभन्दा आन्तरिक शक्तिले ढालेको बताउनुभयो । नेपाली भूमिलाई बाह्य शक्तिको क्रिडास्थल बन्न नदिनेमा नेपाली नै सतर्क बन्न आवश्यक रहेको उहाँले बताउनुभयो । भूराजनीतिक प्रभाव नेपालमा धेरथोर पर्ने भएपनि सत्तापलटमा मुख्य आन्तरिक शक्तिको गठजोड भएको उहाँले बताउनुभयो । दलका नेताहरु सत्तास्वार्थभन्दा मुलुक र जनताप्रति जिम्मेवार बन्न आवश्यक रहेको नेता भण्डारीले चर्चा गर्नुभयो । 

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताउनुभयो । पूर्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहनु भएका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्व प्रधानमन्त्री बन्नुभएको हो उहाँले भन्नुभयो । 

अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूलकारण आन्तरिक भएपनि नेपालमा बाह्य प्रभाव बढी पर्नेगरेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “कुनै पनि मुलुकले आफ्नो विदेश नीति  अन्तर्राष्ट्रिय सम्बन्धलाई तय गर्दा भूराजनीति, आफ्नो छरछिमेकप्रति पर्ने असरलाई ध्यान दिएरै गर्नुपर्छ ।” अफगानिस्तान वा श्रीलंकामा अहिलेदेखि पहिले भएका उथलपुथलहरु पनि भूराजनीतिक प्रभाव भएको उहाँले बताउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपालको परराष्ट्र सम्बन्ध कमजोर बन्दैगएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पछिल्लो समय विभिन्न सहायताको नाममा, विकासको नाममा मुलुकको परराष्ट्र नीतिमा प्रहार भइरहेको उहाँले बताउनुभयो । सत्ता स्वार्थमा दलका नेताहरु भुलेपछि बाह्य हस्तक्षेप बढेको उहाँले दावी गर्नुभयो ।

“हामीले आफ्नो सत्ता स्वार्थका लागि जे पनि सम्झौंता गर्न तयार हुन्छौं” अध्यक्ष लिङ्देनले थप्नुभयो, “नेपालको असंलग्नता, तटस्थता, पञ्चशीलको सिद्धान्तलाई जोसुकै पार्टीको सरकार भएपनि साझा मान्यताको रुपमा अगाडि लिएर जानुपर्छ । देशको हित सर्वोपरी हुनुपर्छ ।” नेपालीहरु विचलित हुँदा बाह्य हस्तक्षेप बढ्नु स्वभाविक रहेको उहाँले चर्चा गर्नुभयो ।

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।