प्रतीक इच्छुक शर्मा
सल्यान, माघ २२ गते । सल्यानमा भएको अटो दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ मेलचौर निवासी ७८ वर्षीय टकबहादुर रेउले रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार घाइते रेउलेको नेपालगञ्जस्थित सञ्जीवनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटना गएको सोमबार दिउँसो शारदा नगरपालिका –१ श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो शारदा नगरपालिका–२ खलंगास्थित खानेपानी तथा ऊर्जा विकास कार्यालयको क्वार्टर नजिक दुर्घटना भएको थियो ।
दुर्घटनामा परी कुल १० जना घाइते भएका थिए । तीमध्ये सात जनालाई जिल्ला अस्पताल सल्यानले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो । रिफर गरिएकामध्ये एक जनाको मृत्यु भएको र बाँकी छ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सामान्य घाइते भएका तीन जनालाई जिल्ला अस्पतालमै उपचारपछि घर फर्काइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार चालकसहित चार जना मात्र सवार हुन मिल्ने अटोमा ११ जना यात्रु राखिएको थियो ।