डाक्नेश्वरी (सप्तरी), माघ २२ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नं. ३ का उम्मेदवार उपेन्द्र यादव चुनावी छलफल तथा भेटघाटलाई तीव्रता दिनुभएको छ ।
बिहीबार डाक्नेश्वरी नगरपालिकाको लक्ष्मीपुर, पातो, बलाटी र बनौला गाउँका स्थानीय नेता, कार्यकर्ता तथा आममतदातासँगको भेटघाटमा उहाँले आफ्ना प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
भेटघाटमा नागरिकले चुनाव जितेर गएका जनप्रतिनिधिले विकास नगरेको, गाउँमा अझैं सहज बाटो नपुगेको, सिँचाइ सुविधा अभाव, गुणस्तरीय शिक्षाको अभाव, सुविधासम्पन्न अस्पताल नभएको, पुल नहुँदा वर्षायाममा खोला तर्न समस्या झेल्नुपरेको, समयमा मलखाद नपाएको, ग्रामीण महिलाहरु अवसरबाट वञ्चित भएको, बेरोजगारी, नदी नियन्त्रण लगायतका समस्याहरु राखेका छन् ।
उहाँले उक्त क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, गरिबी, बेरोजगारी लगायतका समस्यामा सरकार गम्भीर बन्नुपर्ने भनाइ राख्नुभयो ।
उहाँले भन्नुभयो, “‘मेरो नजरमा पाँच मूलभूत समस्याको रुपमा बाटोघाटो, स्वास्थ्य, गरिबी, बेरोजगारी र विकास अति आवश्यक रहेको पाएँ, आमजनताका लागि यो अत्यन्तै चिन्ताको विषय हो, सुधारकालागि तीनै तहको सरकारले गम्भीरता देखाउनु जरुरी छ ।”
उहाले जनताका गुनासा स्वाभाविक भएको तर विकास नै नभएको अवस्था भने नभएको पनि बताउनुभयो ।
चुनावी छलफल तथा भेटघाटमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादव, पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवम् क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्रप्रसाद साह, केन्द्रीय सदस्य एवम् युवा विद्यार्थीका संयोजक बिदेश्वर प्रसाद यादव (बिक्की), डाक्नेश्वरी नगरपालिकाका पूर्व मेयर शिवनारायण साह, जिल्ला अध्यक्ष सुनिल कुमार झा लगायतका नेताहरु सहभागी हुनुभएको थियो ।