काठमाडौँ, माघ २२ गते । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पत्रकारिताको व्यावसायिकता, प्रेस स्वतन्त्रता र जनपक्षीय भूमिकालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ प्रेस चौतारी नेपाल २८ वर्षमा प्रवेश गरेको अवसरमा उहाँले श्रमजीवी पत्रकारको नेतृत्वदायी सङ्गठन प्रेस चौतारी रहेको भन्नुहुँदै सो प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रेस चौतारी नेपालले स्थापनाकालदेखि नै राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, प्रेस स्वतन्त्रता, व्यावसायिक मर्यादा र जनपक्षीय पत्रकारिताको स्पष्ट मार्गरेखा तय गर्दै अघि बढेको उहाँको भनाइ छ ।
उहाँले बदलिँदो राजनीतिक, सामाजिक र प्रविधिको परिवेशमा पत्रकारितामाथि चुनौती बढ्दै गएको बताउनुभयो । गलत सूचना, अफवाह र नियोजित भ्रमविरुद्ध सत्य र तथ्यमा आधारित पत्रकारिताको भूमिका अझ महत्वपूर्ण बनेको उहाँको भनाइ छ ।