• २२ माघ २०८२, बिहिबार

नाइजेरियामा नरसंहारपछि सेना तैनाथ

blog

जोस (नाइजेरिया), माघ २२ गते । नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीले १६२ जनाको हत्या गरेपछि राष्ट्रपति बोला अहमद टिनुबुले तत्काल सेनाको बटालियन तैनाथ गर्दै देशको सुरक्षा व्यवस्था सुदृढ पार्ने आदेश दिनुभएको छ ।

मङ्गलबार राति वोरो गाउँमा भएको आक्रमण सेनाको हालैका कारबाहीपछि भएको हो । सेनाले यस क्षेत्रमा ‘आतङ्कवादी तत्व’ विरुद्ध कारबाही गरेको थियो । बन्दुकधारीले पसल र परम्परागत शासकको घरमा आगो लगाएको थिए र घाइते झाडीमा भागेको रेडक्रसका क्वारा राज्य सचिव बाबोमो आयोदेजीले बताउनुभयो ।

आयोदेजीका अनुसार मृतकको सङ्ख्या हाल १६२ पुगेको छ र थप शवहरूको खोजी जारी छ । प्रहरीले आक्रमणको पुष्टि गरेको छ, तर हताहतको सङ्ख्या स्पष्ट छैन । प्रारम्भिक तथ्याङ्क अनुसार स्थानीय सांसद साईदु बाबा अहमदले ३५–४० जनाको मृत्यु भएको बताउनुभयो, तर घाइते भागेका कारण अझै शव फेला पर्ने सम्भावना रहेको थियो । क्वारा राज्यका गभर्नर अब्दुल रहमान अब्दुल रजाकले मृतकको सङ्ख्या ७५ जना रहेको बताउनुभएको थियो ।

ग्रामीण क्षेत्रमा आक्रमणपछि प्रायः विवरण द्वन्द्वात्मक देखिन्छन् । कुनै पनि समूहले जिम्मेवारी लिएको छैन तर राज्य सरकारले ‘आतङ्कवादी कोष’ लाई दोष दिएको छ भने टिनुबुले बोको हराम जिहादी समूहलाई आक्रमणको जिम्मेवार ठहराउनुभएको छ । नाइजेरियाका केही भाग गाउँ लुट्ने, अपहरण र फिरौतीमा संलग्न सशस्त्र गिरोह, अन्तर–साम्प्रदायिक हिंसा र उत्तरमा सक्रिय जिहादी समूहबाट प्रभावित छन् ।

सेना तैनाथ गर्दै राष्ट्रपति टिनुबुले जिहादीको विचारधारालाई अस्वीकार गर्ने गाउँले विरुद्ध गरिएको ‘जङ्गली आक्रमण’ को निन्दा गर्नुभयो । राष्ट्रपतिको विज्ञप्तिमा आक्रमणकारीले समुदायका सदस्यको हत्या गरेकामा टिनुबुले आक्रोश व्यक्त गर्नुभएको छ । मङ्गलबार साँझ ६ बजे (१७०० जिएमटी) बन्दुकधारीले वोरोमा आक्रमण गर्दै पसल र राजाको दरबारमा आगो लगाएको सांसद अहमदले बताउनुभयो । 

संयुक्त राष्ट्र सुरक्षा प्रतिवेदन अनुसार उत्तरी कात्सिना राज्यमा छुट्टै आक्रमणमा हवाई सेनाको कारबाहीमा २७ जना ‘आतङ्कवादी’ मारिए, तर २३ सर्वसाधारणको मृत्यु भएको शङ्का गरिएको छ । वोरोमा परम्परागत राजाको ठेगाना अज्ञात रहेको थियो, तर रेडक्रसका अधिकारीले उनलाई अल्हाजी सालिहू उमरको रूपमा नामकरण गरेका थिए । नाइजेरियामा धेरै परम्परागत राजा, अमिर र शासक छन्, जसले राजनीतिक कार्यालय नराखे पनि ठुलो स्थानीय र सांस्कृतिक प्रभाव राख्छन् ।

सेनाले जिहादी र सशस्त्र डाकु विरुद्ध कारबाही बढाएको छ । गत महिना सेनाले क्वारा राज्यमा ‘आतङ्कवादी तत्व विरुद्ध निरन्तर समन्वित आक्रामक कारबाही’ सुरु गरेको थियो र स्थानीय मिडियाका अनुसार सेनाले १५० डाकुलाई सुरक्षा खतरा सिर्जना गर्न नसक्ने अवस्थामा पुर्‍याएको छ । सेनाले जनवरी ३० मा जारी विज्ञप्ति अनुसार, सुरक्षा बलका दुर्गम शिविरमा आक्रमण गर्दै परित्याग भएका शिविर र रसदको स्रोत नष्ट गरेको छ ।

गत वर्ष जिहादी आक्रमण बढेका थिए । अल-कायदा सम्बद्ध समूह जेएनआइएमले क्वारा राज्यको पहिलो आक्रमणको जिम्मेवारी लिएको थियो र यस समूहको सञ्चालन नाइजेरियाको उत्तरी सीमा नाइजेरमा आधारित छ । अनुसन्धानकर्ता ब्रान्ट फिलिपका अनुसार, पछिल्लो छापा जेएनआइएमले अक्टोबरमा आक्रमण गरेको साइट नजिकै भएको थियो, जसले जेएनआइएम र बोको हरामबिच ‘प्रत्यक्ष ओभरल्याप’ र ढिलो गठबन्धन रहेको सङ्केत दिन्छ ।

सुरक्षा समस्याको प्रतिक्रियामा क्वारा राज्यले केही क्षेत्रमा कफ्र्यू लागु गरेको छ र विद्यालय धेरै हप्ताका लागि बन्द राखेको थियो । पछि सोमबार खोल्न आदेश दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियाली इसाईको ‘नरसंहार’ भएको आरोप लगाएपछि देशको असुरक्षा विषयमा गहिरो जाँच भइरहेको छ । तर नाइजेरियाली सरकार र स्वतन्त्र विज्ञले यस दाबीलाई अस्वीकार गर्दै देशको हिंसामा इसाई–मुस्लिम दुवै मारिएका र प्रायः भेदभाव बिना नै भएको बताएका छन् । रासस/एएफपी