• ११ असोज २०८१, शुक्रबार

‘मल ल्याउन प्रयत्नशील छौँ’

blog

सर्लाही, असार ३२ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकार जतिसक्दो चाँडो रासायनिक मल भित्र्याउन प्रयत्नशील रहेको बताउनुभएको छ ।  सङ्घीय सरकार मातहत रहेका कृषि तथा पशुसँग सम्बन्धित मधेश प्रदेशका विभिन्न कार्यालयका प्रमुखहरूसँग शुक्रबार सर्लाहीको नवलपुरस्थित उष्णप्रदेशीय बागवानी केन्द्रमा छलफल गर्दै मन्त्री सिंहले साउन दोस्रो सातासम्ममा मल भित्र्याउने प्रयत्न भइरहेको बताउनुभएको हो । सरकारले ओमानबाट कोलकत्ता सुख्खा बन्दरगाह हुँदै ५० हजार टन यूरिया मल ल्याउन लागेको मन्त्री यादवले जानकारी दिनुभयो । 

सो परिमाणको मल साउन पहिलो हप्तादेखि दोस्रो हप्तासम्ममा नेपाल आइसक्ने उहाँको दाबी छ । कृषिमन्त्री यादवले पहिले ९५ प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित रहेको अवस्थामा अहिले त्यो घटेर ६० प्रतिशतमा आइपुग्दा नेपालको पूरै अर्थतन्त्र आयातमुखी बन्न पुगेको चिन्ता व्यक्त गर्नुभयो । 

उहाँले कृषि अनुसन्धानलाई प्राथमिकता दिँदै रैथाने बीउ तथा बालीनालीको संरक्षणमा जोड दिनुभयो । मन्त्री यादवले कर्मचारीलाई राज्यले दिएको जिम्मेवारीलाई सफल बनाउने गरी काम गर्न निर्देशन दिनुभएको छलफलमा सहभागी कृषि अनुसन्धान निर्देशनालय परवानीपुर, बाराका प्रमुख डा.विशेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।