यादवराज पुरी
रौतहट, माघ १८ गते । नगरपालिकाको उदासिनताको कारण अतिक्रमणले साँघुरिएको रौतहटको पुराना ठुला बजारमध्ये चन्द्रपुर नगरपालिका–६ मा रहेको चन्द्रनिगाहपुर हाटबजार विस्तार र व्यवस्थित हुन सकेको छैन ।
स्थानीयले बजारलाग्ने सार्वजनिक जमिनमा बसोबासका लागि पक्की तथा व्यापारिक भवन निर्माण गरेपछि बजार साँघुरिएको हो । २९ कठ्ठा सार्वजनिक जमिनमा फैलिएको उक्त हाटबजार अतिक्रमित भई १४ कठ्ठा क्षेत्रफलमा खुम्चिँदासमेत नगरपालिका मौन छ ।
चन्द्रपुर–६ का समाजसेवी लेखनाथ कोइराला भन्नुहुन्छ, “बजार साँघुरिएसँगै बजारहुँदै दक्षिण र पश्चिम तर्फ जाने कृषि सडक समेत साँघुरिएको छ । शुक्रबार र सोमबार लाग्ने हाटबजारको दिन सडक मै बजार लाग्ने हुँदा आवतजावत प्रभावित हुँदै आएको छ । साना सवारी तथा पैदल यात्री समेतले सास्ती भोग्नु पर्ने बाध्यता छ । पालिकामा लाग्ने हाटबजारमध्ये सबैभन्दा आम्दानी दिने उक्त बजार अतिक्रमण मुक्त बनाई विस्तार र व्यवस्थित गर्नु नगरपालिकाको दायित्व हो ।”
डेढ दशक अघिसम्म बजारको सार्वजनिक जमिनमा स्थानीय ३० जना व्यापारीले कब्जा जमाएका थिए । तीमध्ये १५ जना व्यापारीलाई साविक चन्द्रनिगाहपुर गाउँ विकास समितिले अन्यत्र जग्गा उपलब्ध गराई बसोबास गराएको थियो । तर हाल चन्द्रपुर नगरपालिकाले बाँकी रहेकालाइ भने हटाउन सकेको छैन । क्षेत्रफल साँघुरिएको कारण अव्यवस्थित बनेको सो बजारमा स्थान अभावले गर्दा स्थानीय कृषकले उब्जाएका सागसब्जी, फलफुल र अन्नबाली बाटो मै राखेर विक्री गर्नु पर्ने बाध्यता रहेको बताउनुहुँदै चन्द्रपुर–५ का किसान जयदेव यादवले बजारको दिन यातायात सञ्चालन ठप्प हुँदा ढुवानीमा समेत समस्या भएको दुखेसो गर्नुभयो ।
पालिका भित्र रहेको सार्वजनिक जमिन यकिन गरी लगत तयार पार्ने अधिकार पाउनुभएका कार्यपालिका सदस्य कल्याण कुशवारले बजारले चर्चेको जमिन नामजाँच गर्दा करिब २३ कठ्ठा जमिन बाँकी देखिएको बताउनुभयो । उहाँकाअनुसार उक्त जमिनमा धेरै पहिलादेखि नै निजी आवासीय तथा व्यापारिक भवन ठडिएकोले बजार विस्तारमा चुनौति थपिएको छ । नगर प्रमुखले सक्रिय भूमिका निर्वाह नगरेसम्म अतिक्रमित जमिन खाली गराउन सम्भव देखिदैन ।
यता वडा नम्बर ६ का वडाध्यक्ष सहदेव केसी भन्नुहुन्छ, “बजार अतिक्रमण मुक्त गराउन पटक पटक प्रयास गर्दा पनि सफल हुन सकिएन । बजारको जमिनमा बसोबास गरेकालाई अन्यत्र बसोबासको व्यवस्था मिलाउन सके बजार विस्तार सहज हुने थियो । यसको लागि नगरपालिकाले नै स्थानान्तरको व्यवस्था मिलाउनु पर्ने हुन्छ ।”
चन्द्रपुर नगरपालिकाको स्वामित्वमा रहेको अतिक्रमित उक्त बजारको जमिन खाली गराउन कार्यपालिकाले धेरै पटक सूचना प्रकाशन गरेता पनि जमिन खाली हुन सकेको छैन । नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले यथाशीघ्र सर्वपक्षीय मिटिङ् राखी समस्या समाधान तर्फ अघि बढिने बताउनुभयो ।