देवराम यादव
सप्तरी माघ १८ गते । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ महुलीमा दोश्रो महुली फुटबल गोल्डकप खेल सुरु भएको छ । महुली फुटबल क्लब महुली सप्तरीद्वारा दोस्रो महुली गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।
आयोजक समितिका अध्यक्ष अमित राना मगरको अध्यक्षतामा आयोजित प्रतियोगिताको प्रमुख अतिथि पूर्व राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले एक समारोहका बिच उद्घाटन गर्नुभएको हो ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिता खेलमा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष अशोक कुमार आचार्य, ४ का वडाध्यक्ष तेज नारायण यादवलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा तालतलिया एफसी इटहरी सुनसरी विजयी भएको छ । पथरी ११ एफसी पथरी मोरङलाई ०–१ गोलान्तरले पराजित गर्दै तालतलिया सुनसरीले जितको सुरुवात गरेको हो ।
दुबै टिमबिच कडा प्रतिस्पर्धा भएको निर्धारित ७० मिनेटको पहिलोहापमा दुबै टिमको तर्फबाट गोल हुन सकेन । खेलको दोश्रो हापको ४२ औं मिनेटमा तालतलियाका जर्सी नम्बर ४ का पूजन चौधरीले गरेको गोल निर्णायक बन्न पुग्यो ।
राष्ट्रिय मावि रतवलाको खेलमैदानमा आयोजित उद्घाटन खेलमा पाथरी एफसी पथरीका जर्सी नम्बर ४ का पूजन चौधरी म्यान अफ द म्याच घोषित हुनुभएको छ । उहाँलाई ट्रफीद्वारा पुरस्कृत गरिएको थियो ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई क्रमशः एक लाख एक हजार १११ र ५१ हजार १११ नगद पुरस्कारसहित शिल्ड, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितामा पथरी ११ एफसी पथरी मोरङ्ग, तालतलैया एफसी इटहरी सुनसरी, आयोजक महुली फुटबल क्लब महुली सप्तरी, डिडिवाइसी बेल्टार उदयपुर, गोलबजार स्पोट्र्स क्लब गोलबजार सिरहा, ब्रोदर्स युथ क्लब दुधौली सिन्दुली, इनरुवा एफसी इनरुवा सुनसरी र फ्यूजन एफसी गाइघाट उदयपुर गरी ८ वटा टिम सहभागी छन् ।