• १८ माघ २०८२, आइतबार

स्थानीयको अग्रसरतामा कबर्डहल निर्माण

blog

म्याग्दीको बेनी नगरपालिका ४ थामडाँडामा निर्माण भएको कबर्डहल । तस्बिर : अमृत प्रसाद पौडेल

अमृत प्रसाद पौडेल
म्याग्दी, माघ १८ गते ।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका ४ थामडाँडामा स्थानीयको अगुवाइमा कबर्डहल निर्माण भएको छ । स्थानीय समुदायको अग्रसरतामा बेनी नगरपालिका ४ नम्बर वडा कार्यालय तथा रोजगारीको शिलशिलामा मुलुक बाहिर तथा मुलुककै अन्यत्र पुगेका स्थानीयको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो ।

कबर्डहल निर्माण गर्नका लागि २० लाखभन्दा बढी रकम खर्च भएको निर्माण संयोजक सुमन गुरुङले जानकारी दिनुभयो । ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेर नवनिर्मित कबर्डहलको उद्घाटन गरिएको छ । कबर्डहलको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । उक्त अवसरमा लामिछानेले पछिल्लो समय लोकप्रिय खेलको रुपमा विकास हुन थालेको ब्याडमिन्टन खेल अभ्यास तथा प्रतियोगिता सञ्चालन हुने कवर्डहलले अब स्थानीयले लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

आर्थिक वर्ष २०७९/०८० देखि निर्माण सुरु भएको कवर्डहल निर्माण कार्यले पूर्णता पाएसँगै ब्याडमिन्टन खेलाडीहरु उत्साहित बनेको भृकुटी आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक शेरबहादुर गुरुङले जानकारी दिनुभयो । कवर्डहलको पूर्वाधार निर्माण गर्न दुई वर्षमा गरी वडा कार्यालयबाट सात लाख बजेट विनियोजन भएको निर्माण संयोजक सुमन गुरुङको भनाइ छ ।

कबर्डहल निर्माणका लागि स्थानीयवासीले देउसी भैलोबाट दुई लाख एक हजार तीन सय आठ र प्रवासमा रहेका स्थानीयबासीबाट ११ लाख ६२ हजार आठ सय दुई थप सहयोग गरी कुल २० लाख ६४ हजार ११० खर्च भएको कवर्डहल निर्माण अभियानका संयोजक गुरुङले जानकारी दिनुभयो ।

एउटा मात्रै ब्याडमिन्टन कोर्टमा खेल्ने पूर्वाधार सहित करिब १५० जना दर्शक क्षमताको कबर्डहल निर्माण गरिएको हो ।

वडाभित्रका हरेक बस्तीमा खेलमैदान र खेलपूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत वडा र समुदायको साझेदारीमा कवर्डहल निर्माण भएको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो । बेनी नगरपालिकाको वार्षिक स्वीकृत बजेटबाट थामडाँडाका साथै सिंगा र तातोपानीमा गरी तीन स्थानमा ब्याडमिन्टन कवर्डहल निर्माण भएको लागि ३३ लाख खर्च भएको छ । समुदायले समेत त्यसमा थप सहयोग र श्रमदान जुटाएर ब्याडमिन्टन कवर्डहलहरु निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

नवनिर्मित कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल तथा जनप्रतिनिधिहरुको ब्याडमिन्टल प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।