• १८ माघ २०८२, आइतबार

द्रूतमार्ग निर्माण प्रगति

blog

राजधानी काठमाडौँ उपत्यकालाई तराई–मधेश जोड्न द्रूतमार्ग धेरै वर्षअघिको आवश्यकता हो । त्रिभुवन राजपथले हेटौँडालाई काठमाडौँ जोडेपछि छ दशकअघि राजधानी बाह्य यातायात सञ्जालमा जोडियो । हेटौँडादेखि काठमाडौँको दुरी १८८ किमी छ । यो पहाडी भूभागको कठिन र लामो सडक भयो । पछि काठमाडौँ मुग्लिङ हुँदै नारायणगढबाट हेटौँडा जोड्ने राजमार्ग दोहोरो सवारीका निम्ति अलि सहज बन्यो, दुरी झन् लामो भयो । काठमाडौँ हेटौँडाको सिधा दुरी ७३ किलोमिटर भए पनि काठमाडौँबाट मुग्लिङ हुँदै हेटौँडा पुग्न २२७ किलोमिटरको घुमाउरो भयो । समय र लागत सबै बढ्ने भयो । पूर्वतिरबाट खुलेको बिपी राजमार्ग पनि साँघुरो र दुरीको हिसाबले लामै छ । आर्थिक दृष्टिकोणले यी राजमार्ग बढी उपयोगी हुन सकेनन् । त्यसैले आपूर्ति व्यवस्था महँगो मात्र भएन, लागत पनि उच्च हुन पुग्यो । त्यसैले राजधानीलाई तराई जोड्ने छोटो र दु्रतमार्गको अपरिहार्यता तीन चार दशकअघि नै थियो । काठमाडौँ उपत्यकालाई निजगढसँग जोड्ने दु्रतमार्गले पूरा गर्ने लक्ष्य यतिबेला कार्यान्वयनमा छ । ललितपुरको खोकनादेखि सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा जोडिने द्रूतमार्ग निर्माणाधीन छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार यो मार्गको कुल लम्बाइ ७०.९७७ किमी । सडकको चौडाइ पहाडी क्षेत्रमा २५ मिटर र तराई क्षेत्रमा २७ मिटर रहने छ । दु्रतमार्ग बनेपछि सडक यातायातमा ठुलो क्रान्ति आउने विश्वास छ ।

त्यसो त द्रुतमार्ग सुरु हुनै अबेर भयो । निर्माण थाल्न धेरै हिउँदे वर्षा सिंहदरबारभित्रै माथापच्चीमा बित्यो । निर्णय समयमा हुन सकेन । त्यसले आयोजना कार्यान्वयनमा ढिला हुन गयो । अन्योल चिर्दै सरकारले २०७४ वैशाख २१ गते आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दियो । त्यसयता अनेक अवरोध छिचोल्दै निर्माणमा प्रगति हुन थाल्यो । ढिला भए पनि आगामी वर्षको चैतमा सक्ने लक्ष्य भए पनि अझै केही अवरोध बाँकी नै छन् । उपत्यकाको प्रस्थानविन्दु खोकना वा अन्यत्र टुङ्गो लगाउन बाँकी नै छ । नेपाली सेनाका अनुसार निर्माणाधीन द्रुतमार्गको ४५.१६ प्रतिशत भौतिक काम अहिले सम्पन्न भएको छ । दुई खर्ब रुपियाँभन्दा बढी लागत रहेको आयोजनाको वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाले स्पष्ट पारेको छ । दुई दिनअघि सञ्चारकर्मीलाई स्थगतगत भ्रमण गराई आयोजना निर्माणको अवस्था सार्वजनिक गरिएको हो । केही दिनअघि प्रधानमन्त्री सुशीला कार्की आयोजनाको स्थलगत अवलोकन गर्न पुग्नुभएको थियो । राष्ट्रिय गौरवको यो आयोजना नेपाली सेनाको व्यवस्थापनमा रहे पनि धेरै काम निर्माण कम्पनीलाई नै प्रतिस्पर्धाका आधारमा जिम्मा दिइएको छ । आयोजनाभित्र सडक, पुल, सुरुङ मार्गको विविधता छ । जटिल भौगोलिक अवस्थासमेतले काम सोचे अनुसार सहज हुन सकेको छैन । 

आयोजना अन्तर्गत ललितपुरमा नौ, काठमाडौँमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण भइरहेको छ । हालसम्म विशेष प्रकृतिका अग्ला १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेका छन् भने ८५ स्थानमा रहेका पुलको पनि निर्माण कार्य भइरहेको छ । झन्डै ११ किमी सुरुङमार्गमध्ये लेनडाँडा र धेन्द्रेको ‘ब्रेक थ्रु’ भइसकेको र महादेवटार सुरुङको पनि करिब ७० प्रतिशत काम पूरा भएको जनाइएको छ । मकवानपुरको लेनडाँडा र धेन्द्रेडाँडाको बिचमा रहेको जितपुरखोलामा धरहराभन्दा अग्ला ८२ मिटरका भीमकाय टावर छन् । तिनले यो मार्गको जटिल पूर्वाधारको जटिलतालाई प्रतिविम्बित गर्छ । दक्षिण एसियाकै नमुना विकास पूर्वाधारसमेत भन्न सकिने यो देशकै गौरवको आयोजना हो । यो आयोजनाको कुल लागत बढ्दै गएर दुई खर्ब ११ अर्ब ९३ करोड रुपियाँ पुगेको छ । सुरुमा लागत एक खर्ब ७५ अर्ब रुपियाँ रहेको थियो । समयमा सम्पन्न गर्न नसक्दा समयसँगै लागत पनि बढेको छ । नेपाली सेनाका अनुसार पुस मसान्तसम्म सो आयोजना अन्तर्गत कुल ८२ अर्ब ९७ करोड रुपियाँ खर्च भइसकेको छ । यो आयोजनाको समष्टिगत वित्तीय प्रगतिको ४५.३३ प्रतिशत हो । आयोजनाको ४५ प्रतिशत काम सम्पन्न भएको छ । यो सरकारी लगानी हो । यस्ता आयोजना निजी क्षेत्रले निर्माण गरेर केही वर्ष सञ्चालन गरी लागत र मुनाफा उठाएर फेरि राज्यलाई जिम्मा दिने निर्माण, सञ्चालन र हस्तान्तरण अर्थात् बुट मोडल धेरैतिर प्रचलनमा आएको छ । दु्रतमार्गको अनुभवसमेतका आधारमा सरकारले आगामी दिनमा लगानीबिनै पूर्वाधार विकासको नवीन निजी क्षेत्रीय मोडल अवलम्बन गर्नु वाञ्छनीय छ ।