• १८ माघ २०८२, आइतबार

साम्राज्ञी मोक्तान बनिन् १८ मिस तामाङ

blog

बौद्धकी साम्राज्ञी मोक्तानसहित प्रतियोगीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १७ गते । काठमाडौं बौद्धकी साम्राज्ञी मोक्तान १८ औं मिस तामाङको ताज पहिरिनुभएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै यस पटकको ताज उहाँले पहिरिनुभएको हो । 

विजेता मोक्तानलाई १७ मिस तामाङ अन्जु थोकरले ताज पहिरिनुभयो । मिस तामाङ विजेताले नगद ५० हजार रुपियाँका साथ विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार हात पार्नुभयो । मिस कन्फिडेन्ट, भ्युअर चोइस टाइटलसमेत हात पारेकी मोक्तानले नेपाललाई साँस्कृतिक रुपमा संसारमा चिनाउन चाहनुहुन्छ भने के के गर्नुहुन्छ ? भन्ने प्रश्नमा मोक्तानले निर्णायकको मन जित्नुभयो । नेपाल विविधतायुक्त देश भए पनि एकताको धनी देश भएको उहाँको उत्तर थियो । 

म नेपाललाई बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुकको रुपमा प्रस्तुत गर्छु। हाम्रो विविधता भित्रको एकता र धर्मनिरपेक्षताले हामीलाई निकै गर्व महसुस गराउँछ। हाम्रो सेलोको धड्कन र साकेलाको धुनले एक बनाएको छ। १२० भन्दा बढी भाषाहरु विना कुनै अवरोध बोलिन्छ। हामी एकअर्कालाई माया आदरसाथ बोल्छौ। हाम्रो पहिरनको सुन्दरता र लालित्यले संस्कृतिक महत्व बोकेको छ, मोक्तानले जवाफमा भन्नुभयो । 

निर्णायकमा वरिष्ठ संगीतकार प्रदिप बमजन, पूर्व मिस तामाङ सफलता थिङ, शेषराज भट्टराईलगायत हुनुहुन्थ्यो । इन्जिनियर बन्ने सपना बोकेकी १८ वर्षीया मोक्तानले परिवारको माया र साथले यो सफलता पाउनुभएको छ । अबका दिन महिला सशक्तीकरणमा काम गर्ने उहाँको भनाइ छ । 

प्रतियोगितामा नुवाकोटकी सुस्मा लामा स्याङ्तान फस्ट रनर अप बन्नुभयो । सृष्टि थिङ तामाङ सेकेन्ड रनर अप बन्नुभयो । त्यसैगरी ओसिन गोले तामाङ थर्ड रनर अप बन्नुभयो । फस्ट रनर अपलाई ३० हजार, सेकेन्ड रनर अपलाई २० हजार र थर्ड रनर अपलाई १० हजार रुपियाँ नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिएको आयोजक मम्स इन्टरनेसनलकी अध्यक्ष रञ्जता लामाले बताउनुभयो । 

विजेताहरुलाई प्रमुख अतिथि फुर्वा खेन रिम्पोछे तामाङ र नायक अमिर दोङले टाइटल तथा पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा मिस फोटो जेनिकको टाइटल सृष्टि थिङ तामाङ, मिस ट्यालेन्टको टाइटल देवी वाइबा तामाङ, बेस्ट ड्रेस र मिस मल्टिमिडियाको उपाधि एश्वर्य घिसिङ तामाङ, बेस्ट वाक र ब्युटिफुल हेयरको टाइटल सुजिना गोङ्बा तामाङ, मिस पर्सनलिटीको उपाधि कबिना वाइबा तामाङ, मिस डिसिप्लेनको टाइटल पुजा जिम्बा तामाङ, ब्युटिफुल हेयरको उपाधि र बेस्ट स्माइलको उपाधि सोर्णिमा थिङ तामाङले हात पार्नुभयो ।