रामकृष्ण बोहरा
बागलुङ, माघ १७ गते । तेस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि पर्पल हेज एभिएले जितेको छ ।
निकै नै प्रतिष्पर्धात्मक खेलमा संकल्प पुर्नस्थापना केन्द्र यसपटक पनि उपाधि जित्न असफल भयो । गत वर्षको फाइनल खेलमा पुलिससँग पराजित भएको चोट भुलाउने संकल्पको सपनामा पर्पल हेज एभिएम तगारो बन्यो ।
घरेलु खेलाडीले भरिएको पर्पल हेज एभिएमले आफ्नै मैदानमा संकल्पलाई उपाधिबाट बिमुख गराउन भने निकै नै संघर्ष गर्नुपर्यो । संकल्पलाई हराउन पर्पल हेजले इन्जुरी समयमा निर्णायक गोल गर्यो ।
संकल्पलाई ३–२ गोलले पराजित गर्दा पर्पल हेजका अंकित जिसी नायक हुनुभयो । ९० मिनेटको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा जिसीले गोल गर्दै टिमको जित सुनिश्चित गर्नुभयो ।
उपाधि दाबेदार मानिएको संकल्पले खेलको पहिलो हाफको १२ औं मिनेटमा गोल खान पुग्यो । पर्पल हेजका अभिषेकले फ्रि–किलाई सुन्दर गोलमा परिणत गर्नुभएको थियो ।
गोल खाएपछि दबाबमा रहेको संकल्पका लागि सन्दिप मल्लले २१औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याउनुभएको थियो । पहिलो हाफको २५औं मिनेटमा सबिन नेपालीले गोल गर्दै पर्पल हेजको अग्रता दोब्बर बनाउनुभएको थियो । २–१ गोलले पछि परेपछि दबाबमा रहेको संकल्पका समीर श्रेष्ठले दोस्रो हाफको ७२औं मिनेट गोल गर्दे खेललाई बराबरीमा पर्याउनु भएको थियो ।
निर्धारित समयको खेलपछि थपिएको सात मिनेटमा गोल गर्दै पर्पल हेजका अंकित जिसीले टिमको जित सुनिश्चित गर्नुभयो । निकै नै तनावपूर्ण खेलमा धेरै खेलाडिहरु घाइते समेत हुनुभयो ।
प्रतियोगिताको विजेता पर्पल हेज एभिएमले दुई लाख रुपियाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता संकल्प पुर्नस्थापना केन्द्रले एक लाख रुपियाँमा चित्त बुझाएको छ ।
सेमिफाइनलमा पुग्ने टिमलाई २० हजार रुपियाँ प्रदान गरिएको छ । खेलमा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विधामा पुरस्कृत गरिने आयोजक बागलुङ युनिटी क्लबका सचिव रमेश भण्डारीले जानकारी दिनुभयो ।