माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), माघ १७ गते । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल सङ्घले जितेको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेलमा गण्डकीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा स्तब्ध बनायो ।
पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा जित निकाल्दै टाइगर कप उचालेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जितको थियो । उपाधिसँगै गण्डकीले ६ लाख ६६ हजार ६ सय ६६ रुपियाँ पुरस्कार पायो ।
उपविजेता बनेको पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपियाँमा चित्त बुझायो । तेस्रो भएको पर्वत जिल्ला भलिबल सङ्घले दुई लाख ६ हजार ६६६ रुपियाँ पायो । तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले २६ हजार ६ सय ६६ रुपियाँ प्राप्त गर्नुभयो । सर्भर अद्नान खान, लिविरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज, स्पाइकर फकर वाट्टु, प्रशिक्षक रमेश केसी विधागततर्फ उत्कृष्ट बन्नुभयो । उहाँहरुले जनही ११ हजार एक सय ११ रुपियाँ हात पार्नुभयो ।
महिलातर्फको उपाधि भने न्यू डायमन्ड स्पोट्स क्लबले जितेको थियो । जसमा नेपाल पुलिस क्लब उपविजेता र थाइल्यान्ड क्विन्स तेस्रो बनेको थियो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ पाँच टोली सहभागी भएका थिए ।