• १७ माघ २०८२, शनिबार

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

blog

नेपालकी वर्षा ओली बल अगाडि बढाउँदै । तस्बिर : माधवप्रसाद बराल

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), माघ १७ गते । नेपाल साफ यु–१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग पराजित भएको छ ।

पोखरा रङ्गशालामा शनिबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाल भारतसँग १–० गोलले पराजित भयो । भारतका लागि पर्ल फर्नान्डेजले४९औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । 

भारतका खेलाडी प्रितिका बरमानको प्रहार नेपालकी किपर झरना डुम्राकोटीबाट रिबाउन्ड भएको अवस्थामा भारतकी पर्लको प्रहारले पोस्टको दिशा लिएको थियो । 

भारत खेलमा केही राम्रा अवसरलाई गोलमा परिणत गर्न चुक्यो । नेपालको खेल भने रक्षात्मक देखिएको थियो । खेल अवधीभर नेपालले लोभलाग्दो प्रहार विपक्षी पोस्टमा गर्न सकेन । खेलमा एक गोल गरेर टिमलाई जिताउनु भएकी भारतीय खेलाडी पर्ल  प्लेयर अफ दि म्याच घोषित हुनुभयो । 

नेपालले अब सोमबार भुटानसँग खेल्नेछ । नेपाली टोलीका प्रशिक्षक सुमन श्रेष्ठले प्रशिक्षणको समयमा खेलिएको बल र शनिबार प्रतिष्पर्धामा प्रयोग भएको बल फरक पर्दा खेलमा असर परेको बताउँदै स्कोर गर्न नसके पनि बलियो टोलीसँग खेलाडीले राम्रो खेलेको बताउनुभयो ।

भारतका प्रशिक्षक पामेला कोन्टीले खेल मैदान राम्रो नहुँदा खेलाडीले सोचे जस्तो खेल्न नसकेको बताउनुभयो । चार टोली सहभागि च्याम्पियनसिपमा नेपालले दोस्रो खेल सोमबार भुटानसँग खेल्नेछ ।

यसअघि शनिबार नै भएको खेलमा साविक विजेता बङ्गलादेशले भुटानलाई १२–० गोलले पराजित गरेकोे थियो । च्याम्पियनसिप २४ गतेसम्म चल्नेछ ।