• १७ माघ २०८२, शनिबार

युवा पुस्तामा गोलघरको आकर्षण

blog

गोलघर अवलोकन गर्न पुगेको दर्शकहरू । तस्बिरः राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा), माघ १७ गते । स्याङ्जाको वालिङमा चलिरहेको वालिङ महोत्सवस्थल परिसरमा निर्माण गरिएको गोलघर दर्शकहरूको आकर्षणमा परेको छ ।

महोत्सवमा पुग्नेहरू गोलघर वरपर फोटो खिच्न र यहाँ राखिएका परम्परागत सामग्रीहरूको अवलोकनमा व्यस्त देखिन्छन् । विशेषगरी युवा पुस्तामा गोलघर लोकप्रिय बनेको छ ।

बढ्दो सहरीकरणसँगै गाउँमा पनि पक्की घर बन्दै गएका छन् । परम्परागत रूपमा पुराना र गोलोघर आजभोलि देख्नै पाइदैन, गोलोघर अगाडि तस्बिर खिचाइरहनु भएका चापाकोट–८ का ईन्द्रप्रसाद भट्टराईले भन्नुभयो । गोलोघर र यसमा राखिएका पुराना सामग्री देख्दा खुसी लागेको उहाँको भनाइ छ । 

पुराना र लोप हुन लागेका वस्तुको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले वालिङ उद्योग वाणिज्य सङ्घले महोत्सव स्थलमा लोपोन्मुख घुमाउने (कुँडुले) घर निर्माण गरेको छ । जुन महोत्सवमा पुग्ने दशर्कहरूको आकर्षणको केन्द्रमा परेको छ । 

परम्परा जोगाउने र महोत्सवलाई नयाँपन दिने योजनासहित गोलघर निर्माण गरिएको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पछिल्ला पुस्ताले पुराना प्रकृतिका घर देखेका छैनन्, हाम्रो परम्पराको संरक्षण र जगेर्ना गर्दै नयाँ पुस्तालाई पुरानो कला संस्कृति तथा परम्पराबारे जानकारी दिन गोलघर बनाएका हौं ।”

बाँस, खर, काठ, माटोको प्रयोग गरेर बनाइएको उक्त गोलघर नवौँ वालिङ महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको हो । गोल घरभित्र पुराना पुस्ताले प्रयोग गर्दै आएका सामग्री राखिएको निर्माण समितिका संयोजक केशव पराजुलीले जानकारी दिनुभयो । घरभित्र जाँतो, ढिकी, हलोजुवा, ठेको, छानामा फर्सी, कुभिण्डो लगायतका सामग्री राखेर सजाइएको छ जुन युवा पुस्ताका लागि निक्कै आकर्षक बनेको हो । 

विसं. २०६३ बाट प्रत्येक दुई–दुई वर्षमा वालिङ महोत्सव हुँदैआएको छ । यो नवौँ संस्करणको महोत्सव बुधबारबाट सुरु भएको हो । महोत्सव माघ २५ गतेसम्म सञ्चालन हुने वालिङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।