• १७ माघ २०८२, शनिबार

आरिफको अर्धशतक, सन्दीपले लिए तीन विकेट

विश्वकप अभ्यासः लागातार दोस्रो खेलमा नेपाल विजयी, एमसिए ४८ रनले पराजित

blog

तस्बिर क्यान

काठमाडौँ, माघ १७ गते । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ४८ रनको जित निकालेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले सात विकेटको जित निकालेको थियो । 

शनिबार भएको खेलम टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा १८३ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले अर्धशतक बनाउनुभयो । शेखले ४२ बलको सामना गर्दै नटआउट ६६ रन बनाउनुभएको हो । सन्दीप जोराले २६ बलमा ३१ रन जोड्नुभयो भने आशिफ शेखले २५, गुल्सन झा २३ रनमा आउट हुँदा लोकेश बमले १५ र बसिर अहमेदले ९ रन थप्नुभयो । पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा नेपालले १८३ रन बनाएको हो । 

१८४ रन पछ्याएको एमसिएका लागि मुलचन्दनीले सर्वाधिक ४७ रन बनाउनुभयो भने अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।  पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा एमसिएले १३८ रन  मात्र बनाउन सक्यो । एमसिएलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट हात पार्नुभयो भने ललित राजवंशी र गुल्सन झाले दुईदुई विकेट लिनुभयो । 


यसअघि शुक्रबार राति भएको पहिलो खेलमा एक सय ४३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा तीन विकेटको क्षतिमा भेट्टाएको थियो थियो । 

उक्त खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले अविजित सर्वाधिक ५० रन बनाउनुभएको थियो भने ओपनर कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २८ र आसिफ शेखले १६ रन बनाउनुभएको थियो।

पहिलो अभ्यास खेलमा सुरुमा ब्याटिङ गरेको एमसिएले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो । एमसिएका लागि सिद्धार्थ आकरेले सर्वाधिक २८ र परिक्षित वलसंकरले २७ रन बनाउनुभएको थियो ।

बलिङमा नेपालका नन्दन यादवले दुई तथा शेर मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र कुशल भुर्तेलले एक एक विकेट लिनुभएको थियो ।

अब विश्वकप अगाडि नेपालले चेन्नईमा फेब्रुअरी ३ मा संयुक्त अरव इमिरेट्स (युएई) र फेब्रुअरी ५ तारिख क्यानडासँग ‘वार्म अप’ खेल खेल्ने छ । भारत र श्रीलंकामा हुने विश्वकपको सुरुवात नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै सुरु गर्ने छ । 

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन् ।