राजन रावत
हुम्ला, माघ १७ गते । कर्णाली काेरिडोरको सिमकोट गाउँपालिका–५, कालाढुङ्गा सिमकोट सडक सुचारु भएको छ । गत मङ्गलबार राति परेको हिउँले यातायात सेवा अवरुद्ध हुँदा नेपाल प्रहरी सो हिउँ सफा गर्ने कार्य गरेपछि रोकिएको यातायात सेवा सुचारु भएको हो ।
सडकमा हिउँ जमेर यातायात सेवा अवरुद्ध भएको जानकारी आउने बित्तिक्कै प्रहरी परिचालन गरेर हिउँ सफा गर्ने कार्य भएपछि सिमकोट कालाढुङ्गा क्षेत्रको सडक सुचारु भएको प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले बताउनुभयो । सडकमा एक फिट हिउँ जमेपछि यातायातका साधनहरू गुड्न नसक्ने अवस्था आएपछि सडक बन्द भएको थियो ।
उहाँले यो काम गर्न १५ जना प्रहरी र ट्राफिक प्रहरी परिचालन गरेर सडकको हिउँ सफा गर्ने कार्य सम्पन्न हुने बित्तिक्कै यातायात सेवा सुचारु भएको बताउनुभयो । सडक सफा भएपछि सिमकोटबाट बाहिर जाने र सिमकोट भित्रिने सबैखाले यातायातका साधनहरू सुचारु भएका छन् ।
प्रहरीले करिब तीन सय मिटर सडकमा जमेको हिउँ सफा गरेको छ । यसअघि सोही क्षेत्रमा माघ १० गते परेको हिउँ पनि प्रहरी र स्थानीय युवा मिलेर सफा गरेपछि यातायात सेवा सुचारु भएको थियो । सो क्षेत्र खोल्सो र गहिरो भएको कारण घाम लाग्ने अवस्था नभए पनि हिउँ जम्ने र बरफमा परिणत हुने गर्छ ।