रामकृष्ण बोहरा
बागलुङ, माघ १७ गते । चार दशक सेवा गर्नुभएका शिक्षकलाई गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी माविले दीर्घसेवा गर्ने शिक्षकलाई सम्मान तथा बिदाइ गरेको छ ।
४० वर्षसम्म शिक्षक भएर विद्यालयमा अध्यापन गराउनुभएका शिक्षकलाई सम्मान गरिएको हो । विद्यालयका सहायक प्रधानाध्यापक रहनुभएका शिक्षक नन्दबहादुर पुन बुढा र अर्का शिक्षक गिरिप्रसाद थापालाई सम्मान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्ती र संविधानसभा सदस्य निरज पुनले शिक्षकलाई सम्मान गर्नुभयो । उहाँहरुले विद्यालयको सङ्कट अवस्थादेखि अहिलेसम्मको अवस्थामा सेवा गरेर सिङ्गो पाण्डवखानी क्षेत्रलाई नै योगदान गरेको संविधानसभा सदस्य पुनले बताउनुभयो ।
सहयाक प्रअ पुन विज्ञान र गणित विषयका शिक्षक हुनुहुन्छ भने थापा अंग्रेजी विषयका शिक्षक हुनुहुन्छ । दुवै जनाले उमेर हदले अवकास पाउन लाग्नुभएको हो । ग्रामीण क्षेत्रको विद्यालयमा गणित, विज्ञान र अंग्रेजी शिक्षक पाउन मुस्किल भइरहेको बेला उहाँहरूले वर्षौदेखि गाउँ रोजेर सेवा गर्नुभएको थियो ।
उहाँहरूको योगदानले भौगोलिक रूपमा दुर्गम भएर पनि पाण्डवखानीमा शैक्षिक जागरण देखिएको अध्यक्ष घर्तीले बताउनुभयो । उहाँको सम्मानमा विद्यार्थी, शिक्षकसहित पाण्डवखानीका अभिभावकहरूको ओइरो लागेको थियो । उहाँहरूले शिक्षण पेसाबाट अवकास पाएपछि भने नयाँ शिक्षकको अभाव हुनेमा प्रअ नवीन भावुकले चिन्ता व्यक्त गर्नुभयो ।
नगरपालिकाले उचित समयमा शिक्षक पठाएर सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । चालिस वर्षदेखि क्रियाशील शिक्षकहरूको जस्तो योगदान दिन नयाँ शिक्षकलाई निकै अप्ठ्यारो हुने उहाँको बुझाइ छ ।