• १७ माघ २०८२, शनिबार

खयरबारीबासी भन्छन्, ‘खोलो बाँधियो अनि बाँचियो’

blog

स्थानीयले बनाएको तटबन्ध ।

गोरखापत्र अनलाइन

झापा, माघ १७ गते । झापाको कमल गाउँपालिका –६ स्थित रतुवा खोलाको किनारमा रहेको खयरबारी टोल कुनै समय बाढीको स्थायी त्रासमा बाँचिरहेको बस्ती थियो । अघिल्लो दशकसम्म वर्षायाम लाग्नेबित्तिकै यहाँका बासिन्दाको रात निद्रामा बित्दैनथ्यो ।

‘आज राति कतिखेर रतुवा उर्लिएर घर पस्छ चिन्ता हरेक घरमा उस्तै हुन्थ्यो । बाढी आएपछि भागेर सुरक्षित स्थानमा पुग्ने राम्रो बाटो थिएन। कच्ची बाटो हिलाम्यै हुन्थ्यो, पानीले डुबाउँथ्यो, साना बालबालिका, वृद्ध र महिलालाई झन् जोखिमपूर्ण अवस्था सिर्जना हुन्थ्यो’ स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार रतुवाको बाढीले पटक–पटक खेतीयोग्य जमिन बगाएको छ, घरगोठ भत्काएको छ र कतिपय परिवार विस्थापित हुन बाध्य भएका छन् । यही कारण खयरबारीलाई  ‘बाढीको छायाँमा रहेको बस्ती’ भनेर चिनिन्थ्यो । तर समयसँगै यहाँको अवस्थामा कायापलट भएको छ ।

रतुवा खोलामा मजबुत बाँध निर्माण भएपछि गाउँमा बाढी पस्नेक्रम पूर्णरूपमा रोकिएको स्थानीय टंकप्रसाद सापकोटा बताउनुहुन्छ ।  ‘आकाशमा बादल मडारिँदा यहाँका बासिन्दाको मन अँध्यारो हुन्थ्यो’ उहाँले भन्नुभयो, ‘पानी पर्नुअघि नै घरका सामान पोको बाँधेर बस्नु पर्थ्यो, कतिखेर बाढी पस्छ र भाग्नु पर्ला भनेर ।’ तर हुर्किँदै गएको पुस्तालाई यी कुरा कथाजस्ता लाग्छन् । न बस्तिमा अहिले बाढी पस्छ, न पानी पर्नासाथ भाग्नु पर्ने चिन्ता । ढुक्कले निदाउँछ खयरवारी ।

सडकसँगै भित्रिए अवसर  

यससँगै खयरबारी टोलसम्म कालोपत्रे सडक पुगेपछि जनजीवन झन सहज बनेको छ । केही वर्षअघिसम्म हिउँदमा धुलाम्यै र वर्षायाममा हिलाम्यै हुने बाटो अहिले कालोपत्रे भएपछि सिटी सफारी र अटो रिक्सा समेत चल्न थालेका छन् । स्थानीय दिपक आचार्यका अनुसार, बाटो पिच भएपछि हिँडडुल मात्र होइन, कामकाज र आम्दानीका अवसर पनि बढेका छन् । ‘कालोपत्रे सडकले बस्तिबाट बाहिर निस्किन सजिलो मात्र भएको छैन, अवसरहरु भित्र्याउन पनि सजिलो भएको छ’ उहाँले भन्नुभयो।

सडक, विद्युत र बाँधजस्ता पूर्वाधार विकासले यहाँको कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पारेको छ । किसानले उत्पादन गरेका तरकारी, धान, मकै लगायतका उपज नजिकैको ठुलो बजार दमकसम्म सहजै पुर्‍याउन सजिलो भएको छ । ढुवानी खर्च घटेको छ, समय बचत भएको छ र किसानले उचित मूल्य पाउन थालेका छन् । यसले स्थानीयको आर्थिक अवस्था क्रमशः सुदृढ हुँदैगएको देखिन्छ।

उपचार, शिक्षा, दैनिक उपभोग्य वस्तुको खरिददेखि अन्य सेवा सुविधाका लागि पनि अब खयरबारीका बासिन्दालाई ठुलो समस्या छैन । सडक र यातायात सहज भएपछि अस्पताल, विद्यालय र बजारसम्मको पहुँच सजिलो बनेको छ । स्थानीयका अनुसार यी अधिकांश विकासका काम यहाँबाट निर्वाचित हुँदै आएका प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीको पहलमा सम्भव भएका हुन् । जनप्रतिनिधि नभएको समयमा समेत उहाँकै निरन्तर प्रयासका कारण खयरबारी मात्र होइन, पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण सीमावर्ती क्षेत्रसम्मका सयौं परिवार रतुवा खोलाको बाढीबाट उठिबास हुनुपर्ने त्रासबाट मुक्त भएका छन् ।

अहिले खयरबारी बाढीको भयबाट मुक्त, विकासको बाटोमा अघि बढिरहेको एउटा उदाहरणीय बस्ती बनेको छ। पूर्वाधार विकासले कसरी जनजीवन, दैनिकी र आर्थिक सम्भावनालाई रूपान्तरण गर्न सक्छ भन्ने कुरा खयरबारीले स्पष्ट रूपमा देखाएको छ ।