सन्तोष दहित
दाङ, माघ १७ गते । मतदातासँग प्रत्यक्ष संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै नेकपा (एमाले) का महासचिव एवम् दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेल मतदाताको घरमा पुग्नुभएको छ ।
घोराही उपमहानगरपालिका –६ र १७ का विभिन्न टोलमा आयोजित भेटघाट कार्यक्रममा उहाँले आफ्नो राजनीतिक यात्राभन्दा पनि आफू मुख्यमन्त्री रहँदा तयार पारेको विकासको ‘रोडम्याप’ र त्यसको कार्यान्वयनलाई केन्द्रमा राखेर मतदातासँग बहस सुरु गरेको उहाँको भनाइ छ । पोखरेलले आफू मुख्यमन्त्री हुँदा दाङको दीर्घकालीन विकासका लागि स्पष्ट खाका तयार गरिएको दाबी गर्दै त्यसैको निरन्तरताका लागि निर्वाचनमा विजय आवश्यक रहेको बताउनुभयो ।
“विकास योजना कागजमा मात्र सीमित होइन, त्यसलाई पूरा गर्न सक्षम र जिम्मेवार नेतृत्व चाहिन्छ” उहाँले भन्नुभयो, “योग्य नेतृत्व छान्ने जिम्मेवारी मतदाताकै हातमा छ।” कार्यक्रमको क्रममा उहाँले आफू ‘कुराभन्दा काम गर्ने’ नेतृत्वका रूपमा परिचित भइसकेको उल्लेख गर्दै अधुरा योजनाहरू पूरा गर्न पुनः जनमतको आवश्यकता रहेको बताउनुभयो । स्थानीय विकासको उदाहरण प्रस्तुत गर्दै उहाँले सडक, पूर्वाधार, खानेपानी र सिँचाइजस्ता आधारभूत विषयमा आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।
घोराही –१७ पचुर्काका उज्ज्वल टोल र पचुर्का टोलका स्थानीयवासी रमण चौधरी र बालाराम वलीले घरआँगनसम्म कालोपत्रे सडक पुगिसकेको प्रसङ्ग उठाउँदै अब सामुदायिक भवन, खानेपानी र सिँचाइको समस्या समाधानमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँहरूले विगतमा सुरु भएका योजनाहरू अलपत्र परेको गुनासो राख्नुभयो । जवाफमा पोखरेलले मुख्यमन्त्रीको हैसियतमा आफूले रणनीतिक सडकका रूपमा अघि बढाएको दामोदर मार्गलाई सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“रणनीतिक महत्व बुझेर निर्माण सुरु गरिएको दामोदर मार्गलाई पछिल्लो सरकारले बजेटविहीन बनाएर अलपत्र पारेको कुरा यहाँका नागरिक जानकार नै हुनुहुन्छ” उहाँले भन्नुभयो, “अब त्यो सडक निर्माणको जिम्मा म स्वयं लिन्छु ।” मतदातासँगको संवादमा उहाँले विकासलाई दलगत नाराभन्दा माथि राखेर हेर्नुपर्ने धारणा राख्नुभयो।
“दाङको समृद्धि साझा एजेण्डा हो” पोखरेलले भन्नुभयो, “यसका लागि योजनाको निरन्तरता, स्पष्ट दृष्टिकोण र कार्यान्वयन क्षमता आवश्यक छ।” प्रत्यक्ष भेटघाट, स्थानीय सवालमा खुला छलफल र विगतको कामको आधारमा मत माग्ने पोखरेलको शैलीले चुनावी माहोलमा विकासे बहसलाई प्राथमिकतामा ल्याएको देखिन्छ ।