• १७ माघ २०८२, शनिबार

कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

blog

किन्शासा, माघ १७ गते । अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीमा भएको भीषण दुर्घटनामा कम्तीमा २०० जना खानी मजदुरको ज्यान गएको छ । ‘मार्च-२३’ आन्दोलन (एम-२३) नामक विद्रोही समूहका एक प्रवक्ताले शुक्रबार उक्त घटनाको पुष्टि गरेका छन् ।

प्रवक्ताका अनुसार विभिन्न खानी सुरुङ अचानक भत्किँदा अधिकांश पीडित खानीभित्रै माटोमा पुरिएका थिए । मृतकमध्ये महिला र बालबालिकासमेत रहेका छन्, जसले घटनाको गम्भीरता झन् बढाएको छ । दुर्घटनामा परेका अधिकांश जसो जीविकोपार्जनका लागि खानीमा काम गर्ने खानी मजदुर रहेका थिए ।

बुधबार र बिहीबार रुबाया क्षेत्रका फरक–फरक कोल्टान खानीहरूमा एकपछि अर्को गर्दै सुरुङ भत्किने घटना भएको हो । रुबाया क्षेत्र सन् २०२४ को अप्रिल महिनादेखि एम–२३ विद्रोही समूहको नियन्त्रणमा रहेको बताइएको छ, जसका कारण उद्धार तथा राहत कार्यमा पनि कठिनाइ उत्पन्न भएको छ ।

संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार रुबाया क्षेत्रका खानीले विश्वव्यापी टान्टालम आपूर्तिको करिब १५ प्रतिशत हिस्सा उत्पादन गर्दै आएका छन् । घटनापछि स्थानीय बासिन्दा र मानव अधिकार समूहले खानी सुरक्षाको अवस्था, बालश्रम तथा अव्यवस्थित खानी उत्खनन प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । हालसम्म पनि मृतकको यकिन पहिचान र विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । रासस/सिन्ह्वा