• १७ माघ २०८२, शनिबार

निर्वाचन प्रहरीलाई तालिम सुरु

blog

छनोट भएका निर्वाचन प्रहरीलाई तालिमको उद्घाटन धनकुटाको तल्लो टुँडिखेल । तस्बिरः सन्तोष सुवेदी

सन्तोष सुवेदी 

पाख्रीबास (धनकुटा), माघ १७ गते। धनकुटामा निर्वाचन सुरक्षाका लागि छनोट भएका निर्वाचन सुरक्षा प्रहरीलाई तालिम सुरु गरिएको छ । शनिबार धनकुटाको तल्लो टुँडिखेलमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरीलाई तालिम सुरु गरिएको हो।

धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन सुरक्षा प्रहरी दुर्गाबहादुर निरौलालाई लौरो प्रदान गरेर उद्घाटन गर्नुभएको थियो । माघ १८ गतेबाट मात्रै औपचारिक रूपमा तालीम सुरु गर्ने मिति तोकिए पनि भौगोलिक रूपमा टाढा खटाइनु पर्ने भएकाले आजै बाट तालिम सुरु गरिएको जनाइएको छ। निर्वाचन सुरक्षा प्रहरीले गर्नुपर्ने कामको प्रकृति, तालीम अवधि, उनीहरूले पाउने सेवा सुविधा तथा कारबाही सम्बन्धी विषयमा जानकारी गराइएको धनकुटाका प्रहरी उपरीक्षक एसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

यस्तै, छनोट भएकाहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटा, छिन्ताङ र राजारानी इलाका प्रहरी कार्यालय, पाख्रीवास, हिले, भेडेटार लगायतको स्थानमा पठाइने उहाँले बताउनुभयो । निर्वाचन प्रहरीलाई १० दिनको आधारभूत तालीम दिने र उनीहरुलाई पायक पर्ने स्थानमै तालीमको व्यवस्था समेत गरिएको छ। उनीहरूलाई माघ २५ गतेपछि कार्यक्षेत्रमा परिचालन गरिने एसपी थापा क्षेत्रीले बताउनुभयो।

धनकुटामा १ लाख १८ हजार ४ सय २४ मतदाता छन् । जम्मा १ हजार ८५ जना निर्वाचन सुरक्षा प्रहरी छनोट भएका उनीहरूलाई जनशक्ति नेपाल प्रहरीसँग समन्वय गरी अति संवेदनशील मतदान स्थलमा १० जना, संवेदनशीलमा ६ जना र सामान्य मतदान स्थलमा ५ जनाका दरले परिचालन प्रहरीले जनाएको छ । जिल्लामा कुल एक सय १९ मतदानस्थल र १ सय ६६ मतदान केन्द्र रहेका छन् । तीमध्ये १६ मतदान स्थल अति संवेदनशील, ४९ संवेदनशील र बाँकी मतदान स्थल सामान्य वर्गमा परेको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो।