कोकिला ढकाल
इलाम, माघ १७ गते । इलामस्थित जिल्ला सुरक्षा समितिले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तोकिएको मतदान केन्द्रहरूको स्थलगत अध्ययन थालेको छ ।
जिल्ला सुरक्षा समिति प्रमुख तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र भर्खरै सरुवा भई आउनुभएका नेपाल प्रहरी प्रमुख कुलदीप चन्दसहितको सुरक्षा समितिको टोलीले मतदान केन्द्रहरूको अवस्था बुझ्न थालेको हो ।
समितिको टोलीले जिल्लाको पश्चिमी क्षेत्रमा रहेका मतदान केन्द्रहरूको अवस्थाको स्थलगत अध्ययन गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । टोलीले इलाम निर्वाचन क्षेत्र २ मा पर्ने जनकल्याण मावि, जानकी मावि, राष्ट्रिय मावि, छायाँदेवी मावि, फलाँटे माविलगायत स्थानमा रहेका मतदान केन्द्रहरूको अवस्था बुझेको बताइएको छ ।
सुरक्षा समितिको टोलीले आज इलाम क्षेत्र नम्बर १ मा पर्ने माईजोगमाई गाउँपालिका सहितका पालिकामा रहेको मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । आगामी निर्वाचनका लागि जिल्लामा एक सय ५० मतदान स्थल र दुई सय ९० मतदान केन्द्र छन् ।