• १० चैत २०८२, मङ्गलबार

विद्यार्थीलाई मोबाइलबाट टाढा राख्न सङ्गीत कक्षा

blog

ज्ञानु पङ्गेनी
मध्यविन्दु , माघ १७ गते ।
नवलपुरको कावासोती नगरपालिकाका सामुदायिक विद्यालयमा सङ्गीत कक्षा सञ्चालनमा ल्याइएको छ । सङ्गीत सीप प्रदान गर्ने र विद्यार्थीलाई मोबाइल स्क्रिनबाट टाढा राख्ने उद्देश्यले कावासोती नगरपालिकाले सङ्गीत कक्षा सञ्चालनमा ल्याएको हो ।

चालु आर्थिक वर्षबाट सङ्गीत कक्षा सञ्चालन गर्ने गरी शिक्षा युवा तथा खेलकुद शाखाले कार्यविधि नै निर्माण गरेर शिक्षक नियुक्तिको प्रकृया पूरा गरी केही समयअघिदेखि सङ्गीत कक्षा सञ्चालन भइरहेको छ ।

यस वर्ष नमूनाका रूपमा १६ वटा माविहरूमा सङ्गीत कक्षा सुरुवात गरिएको हो । एक जना नगर सङ्गीत शिक्षक र एक जना सहायक सङ्गीत शिक्षक राखेर हप्तामा दुई दिन एक एक पिरिएड सङ्गीत कक्षा सञ्चालन गर्ने गरी सामान्य पाठ्यक्रम समेत निर्माण गरिएको नगर शिक्षा अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।

पहिलो प्राथमिकतामा मादल र हार्मोनियम राखिएको छ, त्यसपछि गितार तथा विभिन्न लोकबाजा बजाउने सीप प्रदान गरिने नगर शिक्षा अधिकृत पाण्डेले जानकारी दिनुभयो । ‘‘हामीले अहिले एक जना  सङ्गीत शिक्षक नियुक्त गरेका छौँ , सहायक शिक्षक नियुक्त गर्न बाँकी छ । अहिले निर्वाचन आचारसंहिताका कारण रोकिएको छ , निर्वाचन पछि प्रकृया अघि बढाउँछौँ ।’’ पाण्डेले भन्नुभयो, ‘‘अहिले सङ्गीत शिक्षकका रूपमा पूर्णप्रकाश गुरुङ नियुक्त हुनुभएको छ । उहाँ स्थानीय पनि र सङ्गीतमा मास्टर समेत गरेको हुनाले विद्यार्थीलाई वाद्यवादन तथा गायन विद्याको सङ्गीत सीप उहाँले प्रदान गर्नुहुने छ ।’’

पहिलो वर्ष कक्षा ६ लाई लक्षित गरी कक्षा सञ्चालन भएको र आगामी वर्षबाट ७,८ र ९ कक्षामा सञ्चालन गरिने पाण्डेले बताउनुभयो । अहिले सामान्य रूपमा पाठ्यक्रम निर्माण गरिएको छ । मादल वा हार्मोनियममा कुन–कुन ताल सिकाउने, कति समय सिकाउने कसरी सिकाउने र मूल्याङ्कन कसरी गर्ने भन्ने सामान्य रूपरेखा बनिसकेको छ । विद्यालयमा गरिएको पठनपाठन, विद्यार्थीको रुचि र केही समयको अनुभवबाट पाठ्यक्रमलाई पूर्णता दिइने पाण्डेको भनाइ छ ।

‘‘सङ्गीतले जोकसैलाई पनि आकर्षण गर्दछ । जो सङ्गीतमा रुचि राख्छ र उसमा क्षमता छ, त्यसले सानैदेखि सङ्गीत सिकेपछि भविष्यमा सङ्गीत सीप सिकेर त्यसैमा सक्षम बन्छ, घरमा गएर पनि  सङ्गीत सामग्री किन्न लगाउँछ, मोबाइलमम भन्दा पनि सीप सिक्न समय बिताउँछ, त्यसैले यो कार्यक्रम प्रभावकारी हुनेमा हामी विश्वस्त छौँ ।’’ पाण्डेले भन्नुभयो ।

विद्यार्थीलाई घोकन्ते विद्याबाट बाहिर ल्याउन र विषेश गरी स्क्रिनबाट टाढा राख्नका लागि सङ्गीत सीपले फाइदा गर्ने देखिएपछि पालिकाले नयाँ कार्यक्रमका रूपमा सङ्गीत  कक्षा सञ्चालनमा ल्याएको नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेलले बताउनुभयो ।  

वाद्यवादनको सामग्री खरिद गर्न पालिकाले एउटा विद्यालयका लागि ६० हजार रुपियाँ अनुदान उपलब्ध गराउने र विद्यालयले ३० हजार रुपियाँ लगानी गरी ९० हजार रुपियाँ बराबरको सामग्री खरिद गरेर सिकाइलाई प्रभावकारी बनाइने पौडेलले बताउनुभयो ।