एक बिहेपार्टीमा सशरीर उपस्थित हुनु छ । सोही उपक्रमका लागि चल्दै थियो तीव्र तयारीसमेत । मलाई मात्र १० मिनेट र पत्नीका निम्ति करिब एक घण्टा । मैले आफ्नो पोसाकलाई पूरै पार्टीअनुकूल तुल्याइसकेको छु– सफा र चिरिच्याट्ट । अचेल पार्टीहरूमा देशीविदेशी पोसाकादिका धाकधम्की जम्न थालेका छन् । मानुष निर्जीव र पोसाक
सजीव ! अचम्म छैन त ? जे होस् !
“हेर हेर, त्यैट् बेल्ट लगाउनु’भो, आज पनि ?” जलवायु परिवर्तनको तिक्खर असरका कारण हिउँविहीन बनेका हिमचुलीहरू झैँ खुइलिँदै गएको मेरो बेल्टतिर अप्रत्याशित तौरतरिकाले नजर डुलाउँदै सम्माननीय पत्नी महोदयाले आपत्ति जनाइन् । “किन्ने त भनेकै हो नि ! के गर्ने ? यस्तै बेला सम्झिइँदो रहेछ,” म अर्धढाँचासहित रिसाएँ ।
“यस्तो खुइलिएको बेल्ट बाँधेर पार्टीमा जाँदा देख्नेहरूले पनि के भन्लान् ? आफ्नो इज्जत... !” पत्नीको स्वर केही उच्च रह्यो ।
“काँ अरूले मेरै हेरिबस्छन् त !” मैले ठट्टा गर्दै भनेँ, “पार्टीको रमझममा जानेहरूले मेरो बेल्टतिर हेर्दैनन्
मैयाँ ! कहाँ ह्विस्की छ, कहाँ बियर छ र कहाँ छ वाइन... । कहाँ आइटम–फाइटमका खानेकुराहरू छन्, हेर्छन् त्यतैतिर । सबैका नजर त्यतैतिर पुग्छन् । मेरो जाबो बेल्ट... !”
“तैपनि...,” आफूलाई समाल्दै पत्नीले भनिन् ।
“के तैपनि !” मैले रक्षाकवच भिर्दै भनेँ, “यो बेल्ट मेरो परिचय होइन । म आफ्नै परिचयको भूगोलमाथि उभिएर बाँचिरहेको छु, आजपर्यन्त ।”
म पार्टीमा सक्रियतापूर्वक सहभागी भइसकेको थिएँ । अरू सबै कोणप्रतिकोणका हिसाबले म तन्दुरुस्त नै थिएँ तर बेल्टको सवालमा केही हिसाबकिताबले पूरै कमजोर ! मेरो कामना थियो– कोही कसैका बक्रदृष्टि मेरो रुग्ण बेल्टमाथि नपरोस् ! कदापि कदापि !
“अहो मित्र ! बर्सौंपछि भेट भइयो आज ! कहाँ थियौ, यत्रो वर्ष तिमी ?” बनावटीले भरिभराउ रुन्चे अनुहार प्रदर्शन गर्दै धेरै वर्षपछि भेटेका एक मित्रले भने, “धेरै वर्षपछि आज तिम्लाई देख्दा धेरै धेरै खुसी लाग्यो, मित्र !”
थामिएनन् उनी पटक्कै । फेरि भने, “कस्तरी मोटाएछौ भन्या तिमी त ? कपाल पनि सेताम्मे भइसकेछन्, गौरीशङ्कर हिमाल झैँ ।”
ती मित्र अझै रोकिएका थिएनन्, “अब त तिमी बुढो पो हुन थालेछौ ।”
मैले ठट्टामजाककै भाषा प्रयोग गरेँ, “अरे मित्र ! म त यो धर्तीको मान्छे पो हुँ त ! कहाँ ययाति जस्तै जवान भइरहन सकिन्छ र सधैँ ? बुढो त भइहालिन्छ नि !”
“ययाति ?” उनले अक्मकिँदै सोधे ।
यो उपकथा हो–
मैले ययातिको जीवन कथनलाई सङ्क्षिप्त रूपमा उतार्न चाहेँ, “द्वापरयुगमा एक राजा थिए– ययाति । ती राजाले असमयमै वृद्ध हुने श्राप पाएका थिए र सोही कारण उनी भयभीत थिए । उनमा यौवनको अन्तहीन भोग भोग्ने लालसा कति तीव्र थियो भने उनले आफ्नै सुपुत्रसँग यौवन सापटी मागे । राजा ययातिका तीन छोरा थिए । दुई जना छोराले उनको आग्रह स्विकारेनन् किनकि जवानी कुनै पनि मानिसका लागि सबैभन्दा ठुलो वरदान हो र आफ्नो जवानी अरूलाई दिन को चाहन्थे र ? राजा ययातिका कान्छा सुपुत्र पुरुरवाले भने पिताको आग्रह स्वीकार गरे र आफ्नो जवानी सुम्पिदिए ।
बिस्तारै राजा ययातिलाई अन्तहीन भोगले निम्त्याउने निस्सारता बोध भयो र उनले आफ्नो बुढ्यौलीपन छोरा पुरुरवाबाट फिर्ता लिए ।
राजा ययातिको यो कथाले मनुष्यमा सधैँभरि जवान रहिरहने लालसालाई उजागर गर्छ । यसले लामो जीवन बाँच्ने मान्छेको इच्छालाई पनि प्रकट गर्छ । मानव जीवनमा एउटा अजीव घटना भइरहेको छ– दीर्घ जीवन बाँच्ने व्यक्तिहरूको सङ्ख्या बढिरहेको छ र शतायु बाँच्नेहरू धेरै छन् । राजा ययाति आजसम्म बाँचिरहेका भए उनले आफ्ना सुपुत्रहरूसँग जवानी सापटी माग्ने आवश्यकता पर्दैनथ्यो ।
म ययातिको कथा–संसारमा निमग्न थिएँ ।
ययातिको कथा आफ्नै थातथलोमा जीवित रहेकै बेला ती मित्रले सोधे, “कति भए तिम्र्रा बालबच्चा ? कहाँ के गर्दै छन् ? मेडमको जब कता छ नि अचेल ?”
म तिनै मित्रका प्रश्नहरूसँगै खेलिरहेको थिएँ । हठात् सोही समय मेरो नजर उनको बेल्टमाथि प¥यो । उनको बेल्टमाथि नजर दौडाउँदै गर्दा म एउटा कुरामा पूर्णकालीन रूपमा सचेत रहेँ, “हे प्रभु ! उनले चाहिँ मेरो बेल्टमाथि आँखा नघुमाओस् !”
“अरे ! तिमी पनि यो पार्टीमा ?” तिनै मित्रले मसँग अपरिचित एक मित्रलाई आफूतिर तान्दै र अँगालोमा बेर्दै सोधे ।
“हो नि ! आउनै प¥यो । आजको बेहुला मेरा छिमेकी हुन् नि !” ती अपरिचित व्यक्तिले भने र हातमा लिइरहेको बियर–गिलास मेरा मित्रसँग ठोक्काउँदै भने, “चियर्स मित्र !”
“उनी मेरो सानैदेखिको साथी !” मसँग परिचय गराउँदै ती मित्रले फेरि थपे, “हामीबिच पनि धेरै वर्षपछि भेट भएको हो । उनी कता लागे, म कता लागेँ ! जिन्दगी यस्तै रहेछ, सबैले आआफ्नै गन्तव्य ताक्दै यात्रा गर्दा रहेछन् !”
पिउने र पिलाउने माहोलको एकपछि अर्को उद्घाटन हुँदै गयो । हामी तिनै जनाले ‘चियर्स’ ग¥यौँ ।
त्यस पार्टीमा सद्यः परिचित ती मित्रका बेल्टतिर मेरो नजरले एक्कासि छापा मा¥यो । अहा ! कति आकर्षक
बेल्ट ! मलाई लाग्यो– यो बेल्ट धेरै मूल्यवान् हुनु पर्छ ! उनको आकर्षक बेल्ट देखेर म खुम्रेकिरा झैँ पूरै आफ्नै सीमित धरातलमा खुम्चिन पुगेँ ।
पार्टी सकियो र म घर फर्किएँ, आफ्ना र अरूहरूका बेल्टलाई साक्षी–पक्षमा दस्तखत गराउँदै । घरतिर फर्किंदै गर्दा म एउटा अन्तर्वस्तुका कारण ढुक्क एवं प्रफुल्ल थिएँ, “आज मेरो बेल्टमाथि कसैको पनि नजर परेन र मैले बेइज्जतिका सयौँ क्विन्टल भारीसमेत बोक्नु परेन ।”
घरतिर गन्तव्य सोझ्याउँदै गर्दा एउटा शक्तिशाली एवं बहुआयामिक सङ्कल्प प्रस्ताव मनभित्र उमारेँ, “अब म यो पुरानो, खुइलिएको र रुग्ण मानसिकता बोकेर बाँचिरहेको बेल्ट पहिरेर कहीँ कतै पनि जाँदिनँ । एउटा नयाँ बेल्ट भोलि नै किन्ने छु ।”
बैङ्क ब्यालेन्स हेरेँ, एउटा नभई पाँच/दसवटै बेल्ट किन्ने रकम रहेछ । मैले पत्नीसामु बिन्ती बिसाएँ, “म भोलि नै बेल्ट किन्न निस्किन्छु । अब एउटा मात्र होइन, दुईचार वटै किन्ने छु । चाहेँ भने बाँचुन्जेलसम्मका लागि किन्ने छु ।” केही क्षण रोकिँदै आफ्नो मन्तव्यलाई गन्तव्यतिर डो¥याउँदै भनेँ, “यो थोत्रो बेल्टले पनि पूरै तनाव दियो भन्या ! अब यो थोत्रो बेल्टलाई विष्णुमतीमा लगेर सद्गत गरिदिन्छु । टन्टै साफ !”
पत्नीको हाँसो छुट्यो, एक्कासि । हाँसोलाई केही डिग्री तल ओराल्दै उनले भनिन्, “तपैँले यिनै शब्द आजभन्दा पाँच वर्षअघि पनि भन्नु भा’थ्यो । सम्झिनु भा’छ ?”
मैले थोरै अंश नम्र–भाव दर्साउँदै भनेँ, “सम्झ्या छु । पाँच वर्षअघि त यो बेल्ट यति हदसम्म खुइलिसकेको थिएन । अब त यसले खुइलिने आफ्नो हद पूरै पार गरिसक्यो !”
पत्नीको गुनासोमिश्रित स्वर फैलियो, “मैले तपाईंलाई त्यति बेलै नयाँ बेल्ट किन्नुस् भनेकै थिएँ नि ! अब यो पुरानो बेल्टले काम चल्दैन भनेकै थिएँ नि ! मान्नुभएन, मेरो कुरा ।”
“सवाल, नयाँ र पुरानोको होइन मैयाँ !” मैले सामान्य असहमति जनाउँदै भनेँ, “यो मेरो बेल्ट पुरानै हो, मलाई यही पुरानो बेल्टप्रति स्नेह छ । यो बेल्ट नै मेरा लागि सहज छ । नयाँ बेल्ट किन्दा कतै असहज हुन्छ कि भन्ने लागिरहन्छ ।”
मैले कठोर निर्णय सुनाउँदै फेरि थपेँ, “अब पुराना कुरा छाडिदेऊ । म नयाँ बेल्ट किन्ने निष्कर्षमा पुगेँ ।”
नयाँ बेल्ट किन्ने मेरो सङ्कल्प प्रस्तावलाई हिउँदका तुसाराहरूले खाएका बोटबिरुवाहरूझैँ कक््रयाउँदै लग्यो । मेरो त्यो सङ्कल्पले इतिहासका तगाराहरू नाघ्दै मिथकीय खेतबारीहरूमा प्रवेश पाउँदै गयो ।
पार्टीहरू आइरहे र गइरहे पनि । कुनै गणना–गिन्ती भएन । म भने तिनै पुरानै बेल्ट पहिरेर पार्टीहरूमा सामेल हुँदै गएँ । “ए, आज रामप्रसादजीको छोराको बिहेपार्टी छ नि ! तपाईं जानुहुन्न ?” म कौसीमा बसिरहेको थिएँ, आफ्नै घरको कौसीबाट छिमेकी दाइले सोध्नुभयो ।
मैले भनेँ, “निम्तो आएको छ, दाइ ! जानु पर्छ । बरु कति बेला जाने हो ? सँगै जाऊँ न त ।”
“निम्तोपत्रमा त बेलुकी ५ बजे लेखिएको छ । त्यस्तै ६ बजेतिर निस्कौँ न । नजिकै छ क्यार !” ती दाइले भन्नुभयो ।
“हुन्छ, म तयार भएर बस्छु,” मैले भनेँ ।
हामी दुवैले निर्धारित समयमा भेटेर सँगै जाने सल्लाह ग¥यौँ । मैले नयाँ बेल्ट किनिसकेको थिइनँ र उही पुरानै बेल्टमा सजिसजाउ भएर त्यस पार्टीमा सामेल हुने हिसाबकिताब सँगालेर घरबाट निस्किएँ ।
छिमेकी दाइलाई भेट्नेबित्तिकै मेरो नजर उहाँको बेल्टमाथि प¥यो । तत्काल मैले मुख फोरेँ, “दाइ ! नयाँ किन्नुभएको हो ?”
छिमेकी दाइले पनि मेरो बेल्टतिर आँखा घुमाउँदै सोध्नुभयो, “हैन, पुरानै हो मेरो त । तपाईंले चाहिँ नयाँ किन्नुभएको हो र ?”
“नयाँ देखिन्छ र दाइ ?” मैले आफ्नो बेल्टलाई सुम्सुम्याउँदै सोधेँ ।
“त्यस्तै लाग्छ,” ती दाइले भन्नुभयो ।
“कहाँ नयाँ हुनु ! पूरै खुइलिइसकेको छ । किनेकै १०–१२ वर्ष भइसक्यो होला,” मैले अनुहार केही प्रतिशत खुम्च्याउँदै भनेँ, “हेर्नुस् न, पुरानै लगाएर हिँडिरहेको छु ।”
ती दाइ केही उत्तेजनामा उत्रिनुभयो र हाँस्दै भन्नुभयो, “ल, तपाईं के कुरा गर्नुहुन्छ ? तपाईंको त १०–१२ वर्ष मात्र भएछ । मैले यो बेल्ट किनेको २०–२२ बर्सै भइसक्यो । अहिलेसम्म यसैले काम चलाइरहेको छु ।”
हामी दुवै एकअर्काका बेल्ट हेर्दै हाँस्न थाल्यौँ र बिस्तारै पार्टीस्थलतिर पाइला चाल्न थाल्यौँ ।