मेरो एकान्तको साथी
प्रिय कोठा !
म कोठासँग वार्ता गर्छु
हरेक बिहान, हरेक साँझ
कहिले बत्तीसँग
कहिले भित्तासँग
कहिले पुराना तस्बिरसँग
मनका सारा कुरा पोखिरहन्छु ।
एकान्तमा मलाई
कहिले घामले स्पर्श गरेर जान्छ
कहिले जूनले मेरो नयन छोइदिन्छ
कहिले हावाले ढोका ढकढक्याउँछ
क्षणभरका पाहुना बनेर
आफन्त आएझैँ
तर टुट्छ एउटा भ्रम
किनभने म त्यहीँ, स्थिर
शून्यताको आवाजले तर्सिरहेछु
घर र कोठा मात्र होइन
मन पनि शून्य भएको छ
हराइसकेको छ भित्ताको रङ पनि
मेरो स्मृति जस्तै
कोठाचोटामा सजिएका
फर्निचरहरू पनि मौन छन्
र मेरो आवाज
शून्यतामा हराइरहेको छ
जसरी विलीन भए बाआमा
हराए महामारीमा धेरै जना
एउटै छोरा पनि
सहिद भयो आन्दोलनमा
अब कोठामा बचेको त्यही भित्ता छ
बत्ती छ
पुराना तस्बिर छन्
र तिनैमा खोज्छु तिनका मुहारहरू
यो मन अझै पनि कहिलेकाहीँ
टाढा टाढा पुग्न खोज्छ
तर थाकेको छ शरीर
मन र शरीरबिचको द्वन्द्वमा
उभिएको छु म
संसार त छाल झैँ बगिरहेछ
घडीको सुई जस्तै
आफ्नै वृत्तभित्र
तर मेरो समय स्थिर छ
सोच्दै छु म र प्रतीक्षा गर्दै छु
एउटा यस्तो मौन क्रान्तिको
जहाँ पीडा पनि अर्थवान् हुन्छ
कहाँ होला
यो भित्री आवाजको सुनुवाइ ?
यो अन्धकार र उज्यालाको
यो शरीर र मनको युद्ध
कहाँ होला अन्त्य ?
भन्नुस् न
अब मलाई कुन क्रान्तिले लैजाला ?