आफ्नै विश्वासको सुस्केरालाई समाउँदै बल्ल पुगेको थिएँ प्रकृतिको काखमा । आहा ! कति सुन्दर ! जैविक विविधताले भरिपूर्ण त्यो स्थल । मन शान्त एवं आन्नदित थियो पहिलो चोटि छिम्केश्वरी मन्दिर पुग्दा । हातखुट्टा गलेर लखतरान थिए तर मन प्रकृतिमै झुलुक्क झुल्कियो लामै अन्तरालपछि । निधारबाट तरतरी पसिना बग्दा पनि मन हर्षित छ, आकाश झैँ हृदय फक्रिएको छ ।
हरियो रुखबाट सुसेलीको तरेली बग्दै छन् मिठो धुनमा । लगातार एक घण्टा सिँढी नै सिँढी चढ्दै छु, गाडीबाट ओर्लिएर । फेरि केही तेर्सो तेर्सो हिँड्दै पुनः उकालोतिर लम्किँदै छु । जता हेरे पनि रुख र डाँडाकाँडाले लोभ्याउँदै छ यो मनलाई, गहिराइसम्म । यात्रामा आफू मात्र होइन, पशुपन्छीको पनि सहभागिता अनुभव गरेँ, हरेक चिज नौलो देखेँ ।
सेतो स्वच्छ आकृतिमा निक्खर छ आकाश । काठमाडौँको सहरिया आकाश र यो आकाशमा ठुलो भिन्नता भेट्टाउँछु । निलो आकाशमा सेतो ढिक्कैढिक्काको रेखाले आकाशलाई छपक्क छोपिएको बाहिरैबाट छर्लङ्ङ देखिन्छ । मनमा खुसीको फोहराले उज्यालो महसुस हुन्छ । हिँड्दा कोही अघि कोही पछि प¥यौँ, छोरीहरूको रफ्तार समाउन सजिलो छैन । सुस्त छ मेरो हिँडाइ । तराईमा हुर्किएकाले होला पहाडी भूभागमा हिँड्न हम्मेहम्मे पर्छ मलाई । शान्त र हरियाली वातावरणमा एउटा छुट्टै किसिमको आकर्षणले तानेको छ ।
बिस्तारै बिस्तारै पाइला सार्दै छु । २०८२ असोज २७ गते तनहुँको दमौलीबाट आबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटरको यात्र मिर्मिरेमै हुइँकिन्छौँ गाडीमा । बाहिरको वातावरण चिसो छ । बिहानपख अत्याधिक जाडो बढेको छ । शरीर थरथर काँप्यो तर आफूभित्रैबाट विश्वासको दियो बालेपछि यात्रामा न्यानोपन आभास भेटाएँ । नागबेली बगेका सडकलाई पार गर्दै लगभग एक घण्टापछि फेरि यात्रामा अघि बढ्दै छौँ ।
बाक्लो रुखको जङ्गललाई पछाडि पार्दै पुनः ससाना खोल्सा तर्दै गाडी अब माथितिर उक्लिँदै छ । बाटो सोचे जस्तो सजिलो छैन । चालकले ‘फोरह्विल’ लगाएर कठिनपूर्वक गाडी अगाडि बढाउन खोजेँ । निर्जन स्थानको कहालीलाग्दो भिर र उबडखाबड बाटोको यात्रामा डरले मनमुटुमा गहिरो स्थान बनाएको छ । गाडी अक्करे भिरको बिचबाट डाँडामाथि गुड्दै छ निरन्तर । माथिबाट खोला र रुख निकै तल र पातलो आवरणमा देखिन्छन् अब । ठुलठुला चुच्चे ढुङ्गाछेउबाटै गाडी सुस्त रूपमा लम्किँदै छ । असहज बाटोको कठिनता, त्यसमा पनि अर्कोतर्फ ठुलो गाडीलाई साइड दिँदा सबैको मुख कालोनिलो हुन्छ तर चालकको सिपलाई सलाम मनबाटै गर्दै फेरि खोलाकै बाटोबाट माथितिर उक्लिँदै छौँ । डरले थाकेको मन फेरि उठेको छ । नयाँ जोस एवं ऊर्जासाथ ।
हरियाली वातावरणमा नवीनता छ तर अत्यासलाग्दो साँघुरो बाटोमा मन मुटु नै काँप्छ किन किन ? आफू झ्यालतिर परेकाले तल देखिएका कान्लैकान्लाका डाँडा नवीन तथा ताजा लाग्छन् । बाटोमा फाट्टफुट्ट बस्ती पनि भेट्छौँ अब । आदिवासी जनजाति समुदायको बस्ती छ तर यस्तो अनकन्टार ठाउँमा बसेको देख्दा अचम्म लाग्छ । पहाडी भेगका मानिसका लागि जीवन सजिलो हुँदो रहेनछ । शिक्षा, स्वास्थ्यमा मात्र होइन, विकासको पहुँचमा पनि निकै पछि परेको छ यो स्थल तर पनि अनौठो तथा नौलो आकर्षणमा सहजै हराउँछु त्यो मनमोहक प्रकृति एवं जैविक विविधतायुक्त वातावरणमा । अहिले आन्तरिक पर्यटनको पनि भिड लाग्दो रहेछ यहाँ ।
आबुखैरेनी गाउँपालिका अन्तर्गत पर्ने तनहुँको सबैभन्दा अग्लो पहाडी भूभागमा रहेछ, छिम्केश्वरी मन्दिर । समुद्री सतहबाट करिब दुई हजार १३४ मिटरको उचाइमा छिम्केश्वरी मन्दिर रहेछ । सिँढी चढ्दाचढ्दै रुखमा बसेका, उडेका चराचुरुङ्गीको मधुरो भुर्र भुर्र आवाजले म मुग्ध भएँ । हिँड्दाहिँड्दै लटरम्म नास्पाती फलेको देख्दा म लोभिन्छु । रसिलो फल देखेपछि मुख मात्र रसाउँदैन, मन पनि आनन्दित हुन्छ । आमाको आँखा छलेर रुखमा चढी पाकेको आँप चुसेको बाल्यकालको सम्झना टुप्लुक्क आयो ।
गफ गर्दागर्दै आइपुग्यो, त्यो रहस्यमयी छिम्केश्वरी मन्दिर । भित्रभित्रै ओठमा मुस्कान र खुसी छायो । आमाको पाउमा पर्दा हर्षका आँसु झरे एकाएक । अत्यन्तै गहिरो आध्यात्मिक भावना मनभित्रैबाट उठिरह्यो । छोरीहरूले पनि मन्दिरलाई दाहिने पारेर घुमी सकेछन् । पुजारीले टीका र आशीर्वाद दिँदा भक्तिको उच्चतम स्तरमा पुगेको हृदयबाट अनुभव गरेँ । आज साँच्चै विश्वासको समर्पणमा आएर सार्थक भएको महसुस हुन्छ ।
बाराको गढीमाईको मन्दिरमा जस्तै यहाँ पनि अत्यधिक बलि चढाइँदो रहेछ । धार्मिक आस्थाको शिखरका रूपमा पुजिने रहेछ छिम्केश्वरी मातालाई । गोरखा मनकामनाकी दिदीका रूपमा मनोकाङ्क्षा पूरा गर्ने छिम्केश्वरीमाईलाई आस्था र विश्वाससाथ पुजिने रहेछ । मन्दिरभित्र ठुलो दियो झलमल्ल बलेको छ । माताको स्वरूपमा धपक्क उज्यालो छ । बलि दिनका लागि लस्करै बोकाहरू बाँधिएका छन् । मागेको कुरा पूरा हुँदा मनको गहिराइबाट मातालाई प्रसन्न पार्न बलि दिने गरेको स्थानीय बताउँछन् ।
छिम्केश्वरीमा घुम्न आउने पर्यटकलाई लक्षित गरी स्थानीय आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाले रैथाने हाटबजार सञ्चालनमा ल्याएको रहेछ । स्थानीय अमित तामाङले भन्नुभयो, “किसानका उत्पादन बिक्रीका लागि राम्रो माध्यम बनेको छ ।”
स्थानीय सिप्लिकान, निहुरो, साग, सिस्नो, टिमुर, फापर, कोदो, मकै, भटमास र फर्सी किन्न पाइने रहेछ । मन्दिरछेउमा काँक्रो, पानीअमला, फर्सी बेच्न बसेकी कान्छीमाया तामाङले मुसुक्क मुस्कुराउँदै भन्नुभयो, “फर्की जाँदा लिएर जानु है नानी !” मन्दिरको दर्शनपछि लखतरान शरीरले दिव्य अनुपम शक्तिको अनुभव प्राप्त भए जस्तो भयो, मन शान्त भयो । बिस्तारै फेरि बुढीदेवीमाईको ऐतिहासिक मन्दिरतिर लम्किँदै छौँ । जति माथि चढ्यो उति अविस्मरणीय पललाई अँगाल्दै छु । हरियो डाँडापाखा, एकान्त सुनसान ठाउँ, उर्वर खेतबारीबाट गोडा निरन्तर अघि बढिरहे रोचक यात्रामा । मन्दिर खुला ठाउँमा अवस्थित छ । मन्दिरको डिलमा रहेको चौरमा उभिएर हेरिरहेँ परपर देखिने बादलका ढिक्कैढिक्का परेको नौलो संसार । सबैले पर परसम्मको बादलको आकृतिलाई धित मरुन्जेलसम्म हेरिरहयौँ । त्यही पनि चित्त बुझेन, मन भरिएन । त्यसैले केहीबेर त्यहीँ बसेर मिठो अनुभूतिको प्रहर बितायौँ । पाँच जना छौँ यात्रामा ।
हिँड्दाहिँड्दै थाकेर आखिरमा शरीरले आहारा मागे जस्तो आभास भयो । मन्दिरनजिकै हरियो काँक्रो किनेर क¥याम क¥याम चपाउँदा छुट्टै मज्जा आयो तर खानाको प्रबन्ध नहुने थाहा पाएर केही खानेकुरा बोकेर गएका थियौँ । आलु, रोटी र गोलभेँडाको अचार खाँदा खुबै स्वादिलो भयो । फेरि पनि बाँकी काँक्रो किनेर भ¥याङ हुँदै तल ओर्लिंदै छौँ मन्दिरतिर । अबको हिँडाइ सजिलो हुँदै छ । सुरुमा जस्तो श्वासप्रश्वास छिटो छिटो चलेको छैन ।
कक्षा ९ का नानीहरूसँगको गफगाफले ऊर्जाको काम गरेको छ, मन्दिरपरिसरमा । दुई घण्टा निरन्तर हिँडेपछि मात्र विद्यालय पुगिन्छ । तामाङ नानीहरू सत्यतथ्य बताउँछन्, आफ्नो जीवनको । उनीहरूको अनुहारमा गाम्भीर्य छ । छोरीहरू तितो वास्तविकताले झस्किएका छन् । श्रीमान् चाहिँ आफ्नो बाल्यकाल सम्झिँदै हुनुहुन्छ । आआफ्नै अलग कथा लिएर हिँडेका थिए, ती तामाङ नानी । आप्पा वैदेशिक रोजगारीमा गएको दुई वर्ष बितेको र आमाकै जिद्दीले आफूहरूले राम्रो अङ्क ल्याएर पढेको सुनाउँदै थिए । अघिको जस्तै कस्सिँदै र लम्किँदै पुग्नु छैन । ती तामाङ नानीले आफ्नो गाउँबाट तरकारी र फलफूल बेच्न आमा बिहान माथि चढेको बताउँदा उज्यालो पोखिएको थियो मुहारमा ।
मन्दिरपरिसरमा बसेर त्यहाँबाट देखिने धवलागिरि, सैपाल, अन्नपूर्ण, बुद्ध र मनासलु हिमालको दृश्य हेर्दा जोकोही पनि मुग्ध दृष्टि लगाइरहेको देखिन्छ । फर्किन त मन कसैको थिएन, छोरीहरू ध्यान गरे झैँ रुखमुनि बसेकै छन् । चिसो हावाको स्पर्शले मन आनन्दित हुन्छ, त्यहाँ । खुला आकाशमुनि मन्दिरभन्दा तल पहाड लस्करै देखिन्छन् । यात्रामा यस्तो मोहक दृश्य देख्दा समयको रफ्तार कति परसम्म दौडिएको छ, उत्सुकतामा फर्केर हेर्दै छु ।
बिस्तारै हामी खुट्टा काँप्ने त्यही ठाडो बाटो झर्दै छौँ फेरि । मन्दिरबाटै ढुङ्गे भ¥याङको तीन/चार सय खुट्किला ओर्लिएपछि बल्ल सडकको बाटो छुन्छ । त्यो चुच्चो पहाडबाट बिस्तारै तल झर्दा स्वाँस्वाँ बढेपछि केही समय रुखको फेदमा सुस्ताएका छौँ हामी । वरिपरिको क्षेत्र पनि सफा र स्वच्छ छ जताततै । हरियाली डाँडा, रुखपातको पालुवा औधी मनमोहक देखिन्छन् । कलात्मक चित्रकारको उत्कृष्ट कृति जस्तै शालीन छ, यो भूमि ।