ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ १७ गते । बेनी नगरपालिका–१ स्थित चर्चित पर्यटकीय गाउँ रत्नेचौरमा पहेँलपुर फुलेको तोरीबारी र सांगीतिक उत्सवका कारण आन्तरिक पर्यटकले भरियो ।
भाइरल तोरीबारीका रूपमा परिचित रत्नेचौरमा आयोजना गरिएको सांगीतिक उत्सव र इन्द्रेणी समूहको लाइभ दोहोरी प्रस्तुतिमा बेनी, पर्वतको जलजला र बागलुङल गायत क्षेत्रबाट आएका सयौँ दर्शक तथा पर्यटक रमाए । सांगीतिक उत्सवमा स्थानीयले मौलिक कला संस्कृति र भूषभूषाको पनि प्रदर्शन गरे ।
रत्नेचौरको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले शुक्रबार सांगीतिक उत्सवको कार्यक्रम आयोजना गरिएको थियो । उत्सवमा नेपाली ‘लाइभ दोेहोरी’ क्षेत्रको सांगीतिक समूह ‘इन्द्रेणी’को सांगीतिक प्रस्तुतिले रत्नेचौर दिनभर गुञ्जियो ।
रत्नेचौरको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सांगीतिक उत्सवको कार्यक्रम आयोजना गरिएको समाजसेवी तथा उत्सवको संयोजन गर्नुभएका नेत्रबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सांगीतिक उत्सव मार्फत तोरीबारीको प्रचारप्रसार,गाउँको पहिचान, कला र संस्कृतिको सम्मान गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्य हो ।’’
रत्नेचौरलाई देश तथा विदेशमा चिनाएर पर्यटन प्रवर्धनमा टेवा पु¥याउन सांगीतिक कार्यक्रम लिएर आएको इन्द्रेणी कार्यक्रमका प्रमुख कृष्ण कँडेलले बताउनुभयो ।
रत्नेचौरको फाँटमा पहेँलपुर फुलेको तोरीमा रमाउन मङ्सिरदेखि फागुनसम्म यहाँ आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । तोरीसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकनमा पर्यटकहरु रमाउने गर्दछन् ।
भाइरल गाउँ रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन बिदाका दिन धेरै पर्यटकहरु पुग्ने गर्दछन् । समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बिचमा चिटिक्क परेको कालोपत्रे सडकमा पर्यटक रमाउने गर्दछन् । अहिले पहेँलैको तारीको बिचबिचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ ।
रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डको कालोपत्र सडकको दायाँ र बायाँतर्फ खेतको फाँटमा फुलेको तोरी, खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौँ पर्यटक आउने गरेको स्थानीयवासी भरत केसीले बताउनुभयो ।