• १७ माघ २०८२, शनिबार

देवघाटधाममा हुने शतचण्डी महायज्ञ र माघ–महोत्सवको तयारी पूरा

blog

देवघाटधाममा दूध चढाउँदै श्रद्धालु भक्तजन । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की 
तनहुँ, माघ १७ गते ।
तनहुँ, चितवन र नवलपुर जिल्लाको सङ्गमस्थल एवं हिन्दु धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल देवघाटधाममा आयोजना हुन लागेको ‘शतचण्डी महायज्ञ एव्म देवघाट माघ–महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित राम राम मन्दिरको आयोजना तथा प्रसिद्ध भागवत वाचक आचार्य शीतल कृष्णको सङ्कल्पमा यही माघ १९ देखि २९ गतेसम्म यो धार्मिक महोत्सव सञ्चालन हुन लागेको हो ।

ऋषिमुनिहरूको तपोभूमिका रूपमा परिचित त्रिशूली र कालीगण्डकीको सङ्म (वेणी सङ्गम) मा माघ महिनामा स्नान गर्दा अक्षय पुण्य प्राप्त हुने र मोक्ष मिल्ने परापूर्वकालदेखिको धार्मिक विश्वास छ । देवघाटको यही अलौकिक महिमालाई विश्वभर उजागर गर्न र भक्तजनहरूलाई मकर स्नानका लागि निमन्त्रणा गर्ने उद्देश्यले १० दिने महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महायज्ञका सङ्ल्पकर्ता आचार्य शीतल कृष्णका अनुसार दुर्गा पञ्चायन मन्दिरको रूपमा समेत चिनिने राम राम मन्दिरमा विगत ४० वर्षदेखि अखण्ड रूपमा बलिरहेको धुनीमा भक्तजनहरूले विशेष पूजाअर्चना गर्न पाउनेछन् । यसपटकको महायज्ञमा भक्तजनले आफ्नै घरबाट लगेको चरु हवन गर्न पाउने विशेष व्यवस्था मिलाइएको छ । महायज्ञका लागि चितवनतर्फ त्रिशूली किनारमा विशाल पाण्डाल निर्माण सम्पन्न भएको छ भने चरु हवन कार्य तनहुँतर्फको राम राम मन्दिर परिसरमा हुने गरी व्यवस्थापन मिलाइएको छ ।

राम मन्दिरको जीर्णोद्धार सहयोगार्थ सञ्चालन हुन लागेको यस महायज्ञमा विश्वविख्यात भागवत कथा वाचिका देवी प्रतिभा र शीतल कृष्ण महाराजले सङ्गीतमय कथा वाचन गर्नुहुनेछ। राष्ट्रको शान्ति, समाजको समृद्धि र मानव कल्याणको सङ्ल्पसहित आयोजना गरिएको यस अनुष्ठानको भौतिक तथा व्यवस्थापकीय तयारीले पूर्णता पाएको छ ।

महोत्सवमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत ठुलो सङ्ख्यामा श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाउन पर्याप्त स्वयंसेवक परिचालन गरिएको र मकर स्नानका लागि आउने भक्तजनको सुविधालाई ध्यानमा राखी सबै प्रबन्ध मिलाइएको भन्दै आयोजकले सम्पूर्ण धर्मानुरागीहरूलाई पुण्य लाभ लिन आह्वान गरेको छ ।