• १७ माघ २०८२, शनिबार

टाइगर कपमा पुरुषतर्फको फाइनलमा गण्डकी र पुलिस भिड्ने

blog

गण्डकी प्रदेश भलिबल संघ र पर्वत भलिबल संघ प्रतिस्पर्धा गर्दै । तस्बिर : माधवप्रसाद बराल

माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), माघ १७ गते ।
पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फको उपाधीका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत भलिबल संघ दुबै फाइनलमा पुगेको घोषणा गरिएको थियो । तर सेट रेसियोमा पुलिस अगाडि भएको भन्दै आयोजनक टाइगर ग्रुप अफ पोखरा नेपालले प्रेस विज्ञप्ति जारी गर्दै फाइनलमा गण्डकी र पुलिसबिच प्रतिस्पर्धा हुने जानकारी गराएको हो ।

फाइनल खेल घोषणा गर्ने क्रममा प्राविधिक त्रुटिका कारण गलत सूचना प्रवाह हुन गएको थियो । ‘‘मिति २०८२ माघ १७ गते हुने पुरुषतर्फको फाइनल खेल गण्डकी प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लबबिच हुने आधिकारिक जानकारी गराउदछौं ।,’’ विज्ञप्तिमा भनिएको छ । फाइनल खेल शनिबार दिउँसो २ बजेबाट सुरु हुनेछ । तेस्रो स्थानका लागि पर्वत जिल्ला भलिबल संघ र त्रिभूवन आर्मी क्लब भिड्नेछन् । खेल बिहान ११ बजेबाट सुरु हुनेछ । विजेताले टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले तीन लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली दुई लाख ६ हजार ६६६ रुपियाँ पाउने छन् । 

शक्रबार भएको खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप भलिबलको महिलातर्फको उपाधी जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्युु डायमन्डले उपाधी जितेको हो । न्यु डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले जित्यो । उपाधिसँगै न्यू डायमन्डले ६ लाख ६६ हजार ६६६ रुपियाँ हात पार्‍यो । फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपियाँमा चित्त बुझायो । तेस्रो बनेको थाइल्यान्ड क्विन्सले दुई लाख ६ हजार ६६६ रुपियाँ पायो ।