सन्तोष दहित
दाङ, माघ १७ गते । घोराही उपमहानगरपालिका अन्तर्गत अम्बापुरस्थित मुक्त कमैया बस्तीका सुपारी चौधरीले जीवनका ७५ वसन्त पार गर्नुभयो । झन्डै आधा जीवन जमिनदारको घरमा कमैया भएर बिताउनुभएकी उहाँले जीवनमा धेरै दुःख कष्टको अनुभव गर्नुभएको छ । सरकारले २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरेपछि उहाँ स्वतन्त्र त हुनुभयो । यद्यपि मुक्ति
घोषणा भएको २५ वर्ष बितिसक्दा पनि पुनः स्थापना हुन सकेको छैन ।
उहाँले भन्नुभयो, “जमिनदारको घरबाट स्वतन्त्र भएपछि सुखका दिन आउला सोचेको थिएँ तर दुःख उस्तै छन् ।” कमैयाबाट मुक्त भए पनि अहिलेसम्म मुक्त कमैयाको परिचयपत्र पाउन नसकेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “परिचयपत्रको आशा गर्दागर्दै उमेर ढल्किसक्योे, लालपुर्जाको
कुरा त टाढै रह्यो ।”
पहिले धेरै पटक चुनावमा मत दिएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “फेरि चुनाव नजिकिँदै गर्दा नेताहरू बस्तीमा आउन थालेका छन् । सपना बाँड्छन् तर पूरा कहिल्यै हुँदैनन् ।” उहाँले भन्नुभयो, “परिचयपत्र दिलाइदिन्छौँ, लालपुर्जा दिलाइदिन्छौँ भनेर आश्वासन दिन थालेको दशकौँ भयो । चुनावका बेला मुख देखाउन आउने नेताहरू जितहारपछि अर्काे चुनावमा मात्र आउने
गरेका छन् । यो पटक भने हामीले सोच्नैपर्ने अवस्था आएको छ ।”
उहाँले कमैयादेखि अहिलेसम्म पटक पटक भोट हालेको र आफूले त २०४८ सालदेखि मतदान गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब जसले परिचयपत्र र लालपुर्जा दिने लिखित प्रतिबद्धता गर्छ, उसैलाई भोट दिन्छौँ, नत्र भोट हालेर हामीलाई
केही फाइदा छैन ।” सोही बस्तीका ७० वर्षीय शिवप्रसाद चौधरीले २२ वर्षसम्म अर्काको घरमा कमैया जीवन बिताएर मुक्त भएको बताउनुभयो । उहाँले मुक्तिपछि पनि निरन्तर रूपमा १५ वर्ष मजदुरी गर्नुभयो । मजदुरीकै व्रmममा दाहिने खुट्टामा चोट लाग्यो । सामान्य ठानेर ध्यान नदिँदा घाउ बिग्रेर क्यान्सर भयो र अन्ततः दाहिने खुट्टा काट्नु परेको पीडा पोख्नुभयो । शिवप्रसादले भन्नुभयो, “क्यान्सर लाग्यो, अशक्त जीवन बाँच्नु परेको छ । परिचयपत्र र लालपुर्जाको प्रतीक्षामा उमेर उकालो लागिसक्यो तर लालपुर्जा पाउन सकेको छैन ।”
उहाँका अनुसार २०६१ सालदेखि मुक्त कमैयाहरू त्यहाँ बस्न थालेका हुन् । यहाँ बसेको २१ वर्ष भयो, यस अवधिमा चार वटा निर्वाचन भइसक्यो तर अहिलेसम्म परिचयपत्रसमेत पाउन सकेका छैनौँ । अब हामी बसोबास गरेको जग्गाको लालपुर्जा दिलाउने उम्मेदवारलाई मात्र भोट दिन्छौँ । पहिले जस्तो उधारो भोट अब हुँदैन, लिखित कागज गराएर मात्र भोट दिने सल्लाह हामीले गरेका छौँ ।”
सोही बस्तीकी सोन्तली चौधरीले पनि त्यही कुरा दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “जसले लालपुर्जा दिन्छ, उसैलाई भोट दिने योजना बनाएका छौँ । अब हामी उधारो भोट हाल्दैनौँ ।” सोन्तलीका अनुसार उक्त बस्तीमा करिब ६२ घरधुरी छन् । मुक्त कमैया समाज दाङका अध्यक्ष हरिशचन्द्र चौधरीका अनुसार दाङमा तीन हजार ३८५ छुट कमैया परिवार छन् । दाङमा पाँच १० हजार छुट कमैया छन् । सरकारी तथ्याङ्क अनुसार यी पाँच जिल्लामा ३२ हजार ५०९ मुक्त कमैया परिवार छन् ।