• १७ माघ २०८२, शनिबार

उम्मेदवारसहित घरदैलो अभियान

blog

मूलपानीका मतदातासँग भलाकुसारी गर्नुहुँदै बागलुङ –१ का एमाले उम्मेदवार हिराबहादुर केसी ।

रामकृष्ण बोहरा 

बागलुङ, माघ १७ गते । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि यहाँका राजनीतिक दलले उम्मेदवारसहित घरदैलो अभियान थालेका छन् । फागुन २ गतेअघि आमसभालगायत खुला कार्यक्रम गर्न नपाउने भएपछि उम्मेदवारसहितका राजनीतिक दलका नेता मतदाताको घरदैलोमा पुगेका हुन् । 

फागुन २१ गतेको निर्वाचनका लागि माघ ६ गते उमेदवारी दर्ता भइसकेको छ । निर्वाचन हाँक्न दलले नेतृत्व पनि चयन गरिसकेका छन् । सबै दलले निर्वाचनका लागि सम्पर्क कार्यालय खोलेर नेता कार्यकर्ता परिचालन गरिसकेका छन् । क्षेत्रीय तहमा निर्वाचनका कमान्डर बनाएर प्रचार अभियान थालिएको हो । 

कांग्रेसले क्षेत्र नं १ मा चण्डीप्रसाद शर्माको नेतृत्वमा दुई वटा प्रदेश क्षेत्रका सभापतिसहित पदाधिकारीलाई निर्वाचन परिचालन समितिमा राखेर काम थालिएको छ । एमालेले पूर्व सांसद् सूर्य पाठकलाई निर्वाचन परिचालनको कमान्डर बनाएको छ भने राष्ट्रिय जनमोर्चाले तिलक थापा तथा राष्ट्रिय स्वतन्त्र पार्टीले रोशन खड्काको नेतृत्वमा प्रचार अभियान थालेका छन् । 

पहिलो चरणमा निर्वाचनमा होमिएका उम्मेदवारले घर घरमा पुगेर जनतालाई भेट्ने, राजनीतिक प्रशिक्षण गर्ने र आफ्नो दलको उद्देश्य र लक्ष्यबारे बताउने गरेका छन् । निर्वाचन लक्षित गरेर राजनीतिक दलहरूले एक हजार पाँच सय जनासम्म सदस्य रहेको निर्वाचन परिचालन समिति पनि गठन गरेका छन् । 

निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसले क्षेत्रीय सभापति जोकलाल बुढा, एमालेले विष्णुप्रसाद भुसाल, नेकपाले फमलाल निउरे र रास्वपाले ढालेन्द्र रायमाझीलाई प्रचार संयोजक बनाएको छ । प्रारम्भिक चरणमा क्षेत्र नं. २ मा पनि दलले घरदैलो कार्यक्रम गरिरहेका छन् । 

पछिल्लो समय राजनीतिक दलप्रतिको वितृष्णा बढिरहेका बेला दलहरूले जनतालाई भेटेर आफ्नो लक्ष्यबारे बताउने काम नै चुनौती छ । जेनजी आन्दोलनपछि दलप्रतिको विश्वास कम भएको थियो । 

कतिपय नेतालाई गाली गर्ने क्रम चलेकाले कार्यकर्ताले जनतालाई वास्तविकता बुझाउन समेत समस्या परेको देखिएको छ । फागुन लागेपछि भने आमसभा गर्न पाउने व्यवस्था छ । त्यतिबेला राष्ट्रिय नेताको उपस्थितिमा चुनावी आमसभा र कार्यक्रम गर्ने गरी दलले तालिका बनाउँदै छन् ।

 निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातेको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय कमला जिसीले भन्नुभयो, “निर्वाचन आएको जस्तो भइसकेको छैन । राजनीतिक दलहरू अहिले त्यति सक्रिय पनि देखिएनन् ।” उहाँले यो पटक दलभन्दा उम्मेदवारको क्षमता र नेतृत्वप्रति विश्वास गरेर मतदान गर्ने बताउनुभयो ।