बर्दीबास समाचारदाता
बर्दीबास, माघ १७ गते । आसन्न प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मधेश प्रदेशमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको दाबी सुरक्षा अधिकारीले गरेका छन् । प्रदेशभर तीन तहको सुरक्षा परिचालन गरिनुका साथै अतिसंवेदनशील मतदान स्थलमा ड्रोन र सिसी क्यामेरामार्फत निगरानीको व्यवस्था गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
यहाँका आठ जिल्लामा कुल दुई हजार १६० मतदान स्थल र चार हजार ४७१ मतदान केन्द्र छन् । तीमध्ये ५७ प्रतिशत अर्थात् एक हजार २३७ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेको प्रदेश प्रहरीले जनाएको छ । प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार मतदाताको चाप, निर्वाचन क्षेत्रको सामाजिक–सांस्कृतिक परिवेश, विगतका घटनाव्रmम, भौगोलिक अवस्था, स्थानीय मनोभावना तथा राजनीतिक गतिविधिलगायतका आधारमा मतदान स्थलको वर्गीकरण गरिएको हो ।
उहाँका अनुसार मधेश प्रदेशभरि निर्धारण गरिएका मतदान स्थलमध्ये एक हजार २३७ मतदान स्थल र दुई हजार ६१३ मतदान केन्द्र अतिसंवेदनशील, ७६३ मतदान स्थल र एक हजार ५५४ मतदान केन्द्र संवेदनशील तथा १६० मतदान स्थल र ३०४ मतदान केन्द्रलाई सामान्य श्रेणीमा वर्गीकरण गरी सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको छ ।
खुला सीमा र विगतका घटनाव्रmमका कारण मधेश प्रदेशमा निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको सुरक्षा निकायको ठम्याइ छ । करिब ४६४ किलोमिटर लामो खुला सीमाका कारण अवैध प्रवेश, दोहोरो मतदाता बन्ने प्रयास तथा अन्य अवाञ्छित गतिविधिले निर्वाचन सुरक्षालाई संवेदनशील बनाउने गरेको सुरक्षा निकायको बुझाइ छ ।
निर्वाचनलाई ध्यानमा राखेर दुई हजार ६०० नेपाल प्रहरी र दुई हजार २९५ निर्वाचन प्रहरी परिचालनको तयारी गरिएको छ । सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र नेपाली सेनाको समेत सव्रिmय सहभागिताले सुरक्षा घेरालाई थप सुदृढ बनाएको छ ।
बर्दीबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयका डिआइजी कृष्ण ढकालले प्रतिनिधि सभा निर्वाचनका लागि प्रदेशका आठै जिल्लामा चार हजार ३३६ सशस्त्र प्रहरी र दुई हजार ८३२ निर्वाचन प्रहरी तयारी अवस्थामा राखिएको बताउनुभयो ।
सशस्त्र प्रहरीले निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन सुरक्षा बेस, मोबाइल टोली, स्ट्राइकिङ टोली र रिजर्भ फोर्समा जनशक्ति परिचालन गरेको छ । महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतको बिहार राज्य अन्तर्गत सीतामढी र मधुवनी जिल्लासँग करिब ३९ किलोमिटर सीमा जोडिएको महोत्तरीका २५८ मतदान स्थलमध्ये ६३ प्रतिशत अर्थात् १६३ स्थल अतिसंवेदनशील, ३४ प्रतिशत अर्थात् ८९ स्थल संवेदनशील र दुई प्रतिशत अर्थात् छ मतदान स्थल सामान्य श्रेणीमा रहेका छन् ।
उहाँका अनुसार सीमापारिबाट हुन सक्ने सुरक्षा चुनौतीबारे सीतामढी जिल्लाका समकक्षीसँग पुस २४ गते चन्द्रनिगाहापुरमा सुरक्षा बैठक सम्पन्न भइसकेको छ भने मधुवनी जिल्लासँग फागुन ९ गते जनकपुरमा सीमा सुरक्षा बैठक गर्ने तयारी भइरहेको छ ।