• १७ माघ २०८२, शनिबार

तेस्रो स्मृति कप फुटबलमा उपाधी भिडन्त आज

blog

फाइनल खेल हुने बाङेचौर खेल मैदान । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, माघ १७ गते ।
तेस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधीका लागि फाइनल खेल शनिबार हुँदैछ । शनिबार दिउँसो १ बजे हुने खेलमा सङ्कल्प पुनःस्थापना केन्द्र र पर्पल हेज एभिएम भिड्ने छन् । शुक्रबार बाङेचोर खेल मैदानमा सम्पन्न सेमीफाइनल खेल जित्दै सङ्कल्प र पर्पल हेजले फाइनल यात्रा तय गरेका हुन् ।

शुक्रबारको पहिलो सेमीफाइनल खेलमा उपाधी दाबेदार मानिएको सङ्कल्पले रुद्रेपिपल युवा क्लबलाई ०–२ गोल अन्तरले पाखा लगायो । सङ्कल्प दोस्रो स्मृति कपको उपविजेता टोली समेत हो । सङ्कल्प पुनःस्थापना केन्द्रको जितमा खेलको पहिलो हाफमा उर्गेन तामाङले १६ र रविन मगरले ३६ औं मिनेटमा गोल गर्नुभएको थियो ।  

यस्तै, शुक्रबारै भएका दोस्रो सेमीफाइनल खेलमा आयोजक बागलुङ युनिटी क्लब ‘बी’ लाई ०–३ गोल अन्तरले पराजित गर्दै पर्पल हेज एभिएम उपाधी नजिक पुगेको छ । पर्पल हेजको जितमा संगम केसीले दुई र अभिषेक केसीले एक/एक गोलको योगदान गर्नुभयो । संगमले खेलको ४४ र ७९ औं गोल गर्दा अभिषेक केसीले ७० औं मिनेटमा गोल गर्नुभएको थियो । 

प्रतियोगिताको विजेता नगद दुई लाख रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख रुपियाँ प्राप्त गर्ने आयोजक बागलुङ युनिटी क्लबका सचिव रमेश भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार, सेमिफाइनलमा पुग्ने टिमलाई २० हजार रुपियाँ प्रदान गरिएको छ ।

खेलमा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विधामा पुरस्कृत गरिने क्लबका सचिव भण्डारीले जानकारी दिनुभयो ।