सिराज खान
नेपालगन्ज, माघ १७ गते । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्र बाँकेको क्षेत्र नम्बर २ अहिले चर्चित निर्वाचन क्षेत्रमध्ये एक हो । यसै निर्वाचन क्षेत्रबाट विजयी भएर कोइराला देशको प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो । सोही कारण यस पटक यो निर्वाचन क्षेत्रलाई नेपाली कांग्रेसले अत्यधिक महत्व दिएको छ ।
कुनै पनि उम्मेदवारले दोहोरिएर जित्न नपाएको यो क्षेत्रमा यस पटकको प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ । मधेश आन्दोलनबाट स्थापित हुनुभएका पूर्वमन्त्री मोहम्मद ईस्तियाक राई पनि यसै क्षेत्रबाट विजयी भएर दुई पटक मन्त्री भइसक्नुभएको छ । उहाँका लागि पनि यो सिट प्रतिष्ठाको विषय बनेको छ । गत निर्वाचनमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका राई राप्रपाका धवलशमशेर राणासँग पराजित हुनुभएको थियो । निर्वाचनमा राप्रपाले एमालेसँग गठबन्धन गरेको थियो ।
यस पटक राणा निर्वाचनमा उम्मेदवार बन्नुभएको छैन । राप्रपाबाट ऋषिराज देवकोटालाई उम्मेदवार बनाइएको छ । पूर्वमन्त्री राईले पनि जसपा छोडेर एमालेबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहनुभएको छ । नेपाली कांग्रेसले गत निर्वाचनमा जमानत जोगाउन नसकेको यो क्षेत्रमा यस पटक पूर्वप्रधानमन्त्री स्व.सुशील कोइरालाका भाइ स्व. डा.अरुण कोइरालाका छोरा बाँके कांग्रेसका सचिव सुधांशु कोइरालालाई उम्मेदवार बनाएको छ ।
कांग्रेसले युवा नेता कोइरालालाई उम्मेदवार बनाएको र राई एमालेमा प्रवेश गरेको अवस्थामा कांग्रेसबाट टाढा भएर गएका अधिकांश मतदाता फेरि फर्किने सम्भावना बढेको छ । जसका कारण राई र कोइरालाबिच सिधा टक्कर हुने अधिकांशको आकलन छ । अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीले पनि युवालाई उम्मेदवार बनाएका छन् । रास्वपाका विवेककुमार श्रेष्ठ र नेकपाका दीपेन्द्र विष्ट चर्चित र लोकप्रिय युवा हुनुहुन्छ ।
नेकपाले स्व. दामोदर आचार्यपछि पहिलो पटक यस क्षेत्रमा सशक्त दावेदारी प्रस्तुत गरेको छ भने बालेन शाह र रवि लामिछानेको लहरले रास्वपाले पनि कडा टक्कर दिन सक्ने देखिएको छ । जसपा नेपालले नेपालगन्जका उपप्रमुख कमरुद्दिन राईलाई उम्मेदवार बनाएकाले उहाँको उपस्थितिले पनि जित हारमा ठुलो भूमिका निर्वाह गर्न सक्ने बताइन्छ ।
हालसम्मको अवस्थालाई हेर्ने हो भने बाँके २ मा एमाले र कांग्रेसबिच नै सिधा टक्कर हुने सम्भावना एकातिर बढ्दै छ भने अर्कोतिर रास्वपा, नेकपा तथा जसपा नेपाल पनि मुख्य प्रतिस्पर्धामा आउने अधिकांशको बुझाइ छ ।
यो निर्वाचन क्षेत्रबाट हालसम्म दुई पटक सुशील कोइराला, एक पटक इस्तियाक राई, एक पटक सर्वदेव ओझा, एक पटक धवलशमशेर राणा र एक पटक शान्तिशमशेर राणा विजयी भइसक्नुभएको छ । उहाँहरूमध्ये कसैले पनि लगातार दुई पटक निर्वाचन जित्नुभएको छैन । बाँके क्षेत्र नम्बर २ मा यस पटक २० जना उम्मेदवारबिच प्रतिस्पर्धा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।