• १७ माघ २०८२, शनिबार

‘थारू सभ्यता संरक्षण गर्न आवश्यक’

blog

प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाउनुहुँदै आयोगका कार्यवाहक अध्यक्ष सुबोेधसिंह थारू ।

धनगढी समाचारदाता

धनगढी, माघ १७ गते । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारू सभ्यताको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उहाँले थारू सभ्यताको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको हो । 

प्रदेश प्रमुख मियाँले थारू, भाषा, संस्कृति, परम्परालाई मान्छेले बिर्संदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले अहिलेको पुस्ताले आफ्नै पहिचान बिर्सन नहुने जिकिर गर्नुभयो । “पौराणिक थारू संस्कृति, परम्परा र सभ्यता अहिलेको पुस्ताले बिर्संदै गएको देखिन्छ । यसको संरक्षण अत्यावश्यक छ । यसमा आयोगले खेलेको भूमिका प्रशंसनीय छ,” उहाँले भन्नुभयो । मुलुकमै सबैभन्दा बढी थारू समुदायका नागरिक कैलालीमा बसोबास गरिरहेको उल्लेख गर्दै प्रदेश प्रमुख मियाँले उनीहरूको हक र अधिकार सुनिश्चित गर्न आयोगले गरिरहेको कामबारे पनि चर्चा गर्नुभयो । आयोगका अनुसार कैलाली जिल्लामा मात्रै थारू समुदायको जनसङ्ख्या तीन लाख ३२ हजार ९९० रहेको छ । आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारूले आर्थिक वर्ष २०८१/८२ मा आयोगले सम्पादन गरेका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख मियाँलाई हस्तान्तरण गर्नुभएको थियो । प्रतिवेदनमा थारू समुदायको हक, अधिकार, भाषा, संस्कृति र पहिचान संरक्षणका लागि आयोगले गरेका गतिविधि समेटिएका छन् । कार्यवाहक अध्यक्ष थारूले प्रतिवेदनमा समेटिएका थारू समुदायका वर्तमान समस्या, चुनौती र सम्भावनाबारे प्रदेश प्रमुखलाई जानकारी गराउनुभएको थियो । उहाँले विद्यालय तहदेखि नै थारू भाषा अध्ययन गरिनुपर्नेमा जोड दिनुभयो । 

“अहिलेको पुस्ताले आफ्नै पहिचान बिर्संदै गएको देखिन्छ । त्यसैले आयोगमार्फत विद्यालयमा थारू भाषा अध्ययन गरिनु पर्छ भन्ने माग गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “केही स्थानीय तहले थारू पाठ्यक्रम निर्माण गरिसकेका छन् । अब प्रदेश सरकारले पनि यसमा ध्यान दिनु पर्छ ।” सुदूरपश्चिम प्रदेश सभाबाट बडघर प्रथालाई कानुनी मान्यता दिने विषयमा पनि आयोगले चासो राखेको उहाँले बताउनुभयो । यस्तो व्यवस्था अन्य प्रदेशमा पनि लागु हुनुपर्ने उहाँको भनाइ थियो । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा आयोगका शाखा अधिकृत धर्मबहादुर थारू, थारू कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष प्रभातकुमार चौधरी, केन्द्रीय सदस्य पुरनप्रसाद चौधरी, रामकुमारी चौधरी, जिल्ला सभापति वीरबहादुर चौधरीलगायतको उपस्थिति रहेको थियो ।