• १६ माघ २०८२, शुक्रबार

ज्वरो आउनु मात्र बिरामी होइन : डा. बाँस्तोला

blog

स्वास्थ्य शिविरमा स्वास्थ्य उपचार गर्दै चिकित्सक ।

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ १६ गते । आम नेपालीहरुले ज्वरो, खोकीको अवस्थालाई मात्र बिरामी भएको ठान्नुभन्दा नसर्ने रोगका बारेमा सचेत हुनुपर्ने बेनीमा आयोजित कार्यक्रममा चिकित्सकहरुले बताउनुभएको छ । 

प्रदेश अस्पताल बेनीका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हेमन्त बाँस्तोलाले ज्वरो आए मात्रै बिरामी भएको भन्ने मानसिकताले कतिपय नसर्ने रोगहरुले जटिल रुपमा गिजोल्ने बताउनुभएको हो ।

सहिद दिवसको अवसर पारेर प्रदेश अस्पताल बेनीले आयोजना गरेको नसर्ने रोगसम्बन्धी स्क्रिनिङकाउ उद्घाटनका क्रममा बोल्दै डा. बाँस्तोलाले नसर्ने रोगहरु तत्काल नदेखिने भएकाले यसको स्क्रिनिङ गरिरहनु पर्ने उहाँको भनाइ छ । नसर्ने रोगमध्ये पनि सुगर, प्रेसरको केही लक्षण देखिने भए पनि मिर्गौलाको समस्याको खासै लक्षण नदेखिने भएकाले समय–समयमा नसर्ने रोगको परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । 

शुक्रबार बेनीमा भएको स्क्रिनिङमा एकसय ५० जनाको परीक्षण गरिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअनुसार गरिएको उक्त स्क्रिनिङ कार्यक्रमका लागि एक लाख ५० हजार बजेट व्यवस्था गरिएको छ ।

बेनी अस्पतालको बार्षिक स्वीकृत कार्यक्रमअनुसार आयोजना गरिएको उक्त स्क्रिनिङमा जनप्रतिनिधि तथा कर्मचारी एवम् अन्य सामाजिक संघ संस्थाका नागरिकको सहभागिता रहेको थियो । 

शुक्रबार भएको स्क्रिनिङमा मधुमेह, ब्लड प्रेसर, बिएमआइ, रगतको मात्रा, मिर्गौलाको जाँच तथा कोलेस्ट्रोलको परीक्षण गरिएको डा. बाँस्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो, “मानव शरीरमा भएको रगतमा नराम्रो क्यान्सर भएको हुन सक्ने र त्यस्तो हुँदा केही फरक देखिने भएकाले त्यस्तो भेटिएमा थप चेकजाँच गरी रोग निदानका लागि सहज हुने भएकाले शिविरहरु राखिनु पर्छ ।” 

प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले स्वास्थ्य महत्वपूर्ण कुरा भएकाले एकले अर्कालाई सिकाउनेभन्दा पनि चेकजाँच गरी आफ्नो सुरक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले निःशुल्क स्वास्थ्य जाँच गरेर अस्पतालले हामीहरुको शरीरको अवस्थाबारेमा जानकारी गराउने काम गरेको भन्दै आभार व्यक्त गर्नुभयो । 

उहाँले नागरिक स्वथ्य भएपछि मात्र राज्य स्वास्थ्य हुने भएकाले खानपानमा समेत ध्यान दिन आग्रह गर्नुभएको थियो । स्वास्थ्य परीक्षणमा सरकरी कर्मचारी, जनप्रतिनिधि, पत्रकार तथा सञ्चारकर्मीलगायत सहभागी भएको बेनी अस्पतालका मेडिकल अधिकृत डा. रामु सापकोटाले जानकारी दिनुभयो ।