गोरखापत्र अनलाइन
काठमाडौँ, माघ १६ गते । सहिद दिवस २०८२ को अवसरमा पैदल यात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको छ । २७ किलोमिटर (१७ माइल) लम्बाइ रहेको चक्रपथको दूरी पार गर्न करिब ६ घण्टा समय लागेको पैदल यात्रीहरूको भनाइ छ ।
पैदल यात्री सुरथ पोखरेलका अनुसार बिहान ६ः३० बजे सुरुभएको चक्रपथ पैदल यात्रा दिउँसो १ बजे पूरा भएको थियो । कलङ्की चोकबाट सुरुभएको पैदल यात्रा स्वयम्भु, बालाजु, महाराजगन्ज, गौशला, तीनकुने, कोटोश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, धोवीघाट, बल्खु हुँदै कलंकी चोकको यात्रा पूरा भएको उहाँले बताउनुभयो । पोखरेलको साथमा कलङ्की निवासी स्थानीय समाजसेवी विष्णु सापकोटा र लक्ष्मीनारायण श्रेष्ठ रहनुभएको थियो ।
अरु बेला गाडीमा चक्रपथको परिक्रमा प्रायः धेरैले गर्ने भए पनि पैदल यात्रा गरेर चक्रपथको यात्रा पूरा गर्नेहरू निकै कम रहेको पैदलयात्री पोखरेलले बताउनुभयो । उहाँका अनुसार सहिद दिवसको विशेष अवसरमा सहिदहरूको स्मृतिमा चक्रपथको परिक्रमा गरिएको हो ।
पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको उपसचिव र गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्य हुनुहुन्छ । बाँकी दुई जना पैदलयात्री स्थानीय समाजसेवी हुनुहुन्छ । बिहान चक्रपथको पैदल यात्रा गर्न रमाइलो अनुभुति भएको पैदल यात्री श्रेष्ठले बताउनुभयो ।