• १६ माघ २०८२, शुक्रबार

ब्राउन सुगरसहित दुई पक्राउ

blog

रवीन्द्र उप्रेती 

बर्दिबास, माघ १६ गते । गुप्ताङ्गमा लुकाएर लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–५ का २८ वर्षीय महमद गफार अंसारी र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–५ घर भई हाल बर्दिबास नगरपालिका–१ मा डेरा गरी बस्दै आएका ३१ वर्षीय सुनिल कुमार थिङ तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा बर्दिबासस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको संयुक्त सुरक्षा टोलीले बिहीबार साँझ करिब साढे ७ बजे बर्दिबास–१ स्थित बीपी राजमार्गमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

ब्युरो प्रमुख सरोज अधिकारीका अनुसार बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ज.९ प २४१२ नम्बरको डिस्कभर मोटरसाइकललाई शंका लागि तलासी लिँदा मोटरसाइकलको पछाडि सवार तामाङले लगाएको कालो पाइन्टको पछाडिको गोजीबाट कालो प्लास्टिकमा ¥याप गरी लुकाइछिपाइ राखिएको ३ पोका ब्राउन सुगर बरामद गरिएको थियो ।

त्यसपछि मोटरसाइकल चालक अंसारीको प्रारम्भिक तलासीमा केही फेला नपरेपछि सघन तलासी गर्दा मलद्वारमा सेतो प्लास्टिकमा लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकसहित ५२.६२० ग्राम र प्लास्टिक बाहेक शुद्ध तौल ४९.०८० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

करिब ४५ मिनेट लामो तलासीपछि अप्ठेरो अंगबाट लागुऔषध बरामद भएपछि सुरक्षाकर्मी स्वयं पनि चकित परेको ब्युरो प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुवै जनाबाट बरामद लागुऔषध प्लास्टिकसहित ५६.९२० ग्राम र शुद्ध तौल ५१.९२० ग्राम रहेको छ । स्रोतका अनुसार उक्त ब्राउन सुगरको मूल्य बर्दिबास क्षेत्रमा करिब ६ लाख रुपैयाँ र काठमाडौंमा करिब १० लाख रुपैयाँ बराबर पर्ने जनाइएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद मोटरसाइकल र लागुऔषधसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासको जिम्मा लगाइएको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासले जनाएको छ ।