• १६ माघ २०८२, शुक्रबार

प्राङ्गारिक मल उत्पादनमा जोड दिँदै स्थानीय तह

blog

प्राङ्गारिक खेती प्रवर्धनको योजना सुरु गर्ने सान्थाक्रास्थित मरिङ्देन गाउँपालिका कार्यालय । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, माघ १६ गते ।
ताप्लेजुङका स्थानीय तहले प्राङ्गारिक मल उत्पादनमा जोड दिन थालेका छन् । अर्गानिक तथा प्राङ्गारिक खेती प्रवर्धन कार्यक्रम कार्यान्वयन गर्न सुरु गरेका स्थानीय तहले प्राङ्गारिक तथा जैविक मल उत्पादनतर्फ जोड दिन थालेका हुन् ।

जिल्लाको मेरिङ्देन गाउँपालिकाले पनि प्राङ्गारिक अर्थात जैविक मल उत्पादकको योजना अघि बढाएको छ । उक्त योजना कार्यान्वयका लागि गाउँपालिकाले किसानको सूचीकरण गर्ने भएको छ । सूचीकरण भएका किसानलाई प्राङ्गारिक मल खरिद तथा उत्पादनमा सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

सुरुमा प्राङ्गारिक मल खरिद गर्न प्रतिकिलोग्राम वा प्रतिलिटर १० रुपियाँका दरले किसानलाई अनुदान उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । कृषिजन्य खेतीको अधिक सम्भावना भएको मेरिङ्देनमा खेती प्रणाली प्राङ्गारिक स्वरुपको बनाउन गाउँपालिकाले अनुदान सहयोग उपलब्ध गराउने भएको हो । यस अभियानलाई कार्यान्वयमा लैजान पालिकाले १० लाख रुपियाँ खर्च गर्ने योजना बनाएको छ । 

चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रममार्फत प्राङ्गारिक खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अनुदान सहयोग उपलब्ध गराउँदै प्राङ्गारिक स्वरुपको खेती प्रणालीतर्फ किसानलाई आकर्षित गराउने पालिकाको योजना रहेको छ ।

जिल्लाका नौ स्थानीय तहमध्ये मैवाखोला गाउँपालिकाले पालिकामै प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको छ । बोलपत्र (ठेक्का) को प्रक्रिया पूरा भइसकेकाले चालु आवभित्रै उद्योग सञ्चालनमा आउने गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो ।

यस्तै जिल्ला सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकाले समेत प्राङ्गारिक मल उत्पादन गर्ने किसानको सूचीकरण गर्ने प्रक्रिया सुरु गरेका छन् । फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकाले पनि सूचीकरण भएका किसानबाट उत्पादित मल खरिद गर्ने किसानलाई प्रतिकिलोग्राम वा प्रतिलिटर १० रुपियाँका दरले नै अनुदान उपलब्ध गराउने भएको छ ।

यसरी तरकारी बाली, फलफूल, तेलहन, दलहनसहित यहाँको प्रमुख नगदेबाली अलैँचीको अधिक सम्भावना रहेको जिल्लाका स्थानीय तहले धमाधम प्राङ्गारिक खेतीतर्फ सक्रियता बढाउन थालेका छन् । किसानलाई जैविक खेतीतर्फ आर्कषण गर्नेगरी आठराई त्रिबेणी र पाथीभरा याङ्वरक गाउँपालिकाले पनि यसअघिदेखि नै योजना तथा कार्यक्रमहरु सुरु गरेको जनाएका छन् । यहाँका फक्ताङ्लुङ, सिदिङ्वा र मिक्वाखोला गाउँपालिकाले प्राङ्गारिक खेतीका लागि किसानलाई बिरुवा उपलब्ध गराउने तथा प्राङ्गारिक उत्पादनमा जोड दिन रासायनिक मलको बिस्थापनसहितका कार्यक्रम कार्यान्वयनमा ल्याइरहेका छन् ।