• १६ माघ २०८२, शुक्रबार

कैलाली–२ : सफाइ अभियन्तादेखि केबुलकार अभियन्तासम्म

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), माघ १६ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कैलाली–२ मा १६ वटा राजनीतिक दलबाट उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस पटक मुख्य प्रतिस्पर्धी दलका सबै उम्मेदवार यस क्षेत्रका लागि नयाँ हुन् ।

विसं २०७४ को चुनावमा एमालेबाट झपट रावल र २०७९ सालको चुनावमा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले जितेको क्षेत्र नंं २ लाई यस पटक विशेष रूपमा हेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केपी खनाललाई त्यस क्षेत्रका लागि कान्छा र नयाँ अनुहारका रूपमा हेरिएको छ । सरसफाइ अभियन्ताका रूपमा परिचित खनाल नयाँ पुस्ताले देश बनाउनु पर्छ भन्ने उद्देश्यका साथ चुनावी अभियानमा लागेको बताउनुहुन्छ । नेपालमा वातावरणीय फोहोरभन्दा बढी राजनीतिक फोहोर रहेको उल्लेख गर्दै उहाँले देशलाई निकास दिन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । खनाल कान्छा सरसफाइ अभियन्ताकै रूपमा देशविदेशबाट सम्मानित व्यक्ति हुनुहुन्छ । उहाँले ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ मूल नारासहित काठमाडौँलगायत देशभर सरसफाइ अभियान चलाउनुभएको थियो । 

नेकपा (एमाले) का सूर्यबहादुर थापा २०७४ सालको चुनावमा जिल्ला समन्यव समिति कैलालीको प्रमुखमा निर्वाचित हुनुभएको थियो । हाल पार्टीको प्रदेश समितिको सचिवालय सदस्यसमेत रहेका उहाँ समन्वय समितिमा रहँदा गरेका केही योजनाले तत्कालीन अवस्थामा चर्चा पनि पाएको थियो । सफल व्यवसायीका रूपमा रहेका थापा बलियो उम्मेदवारका रूपमा चुनावी अभियानमा लाग्नुभएको छ । उहाँले उम्मेदवारी दर्ता भएसँगै आफ्नो क्षेत्रमा पाँच वर्षमा पाँच हजार जनालाई रोजगारी दिने घोषणा गर्नुभएको छ । चिसापानी–राजकाँडा केबुलकारका अभियन्ता तथा लगानीकर्तासमेत रहेका थापा डल्फिन गु्रपका अध्यक्षसमेत हुनुहुन्छ । सुदूरपश्च्मि प्रदेशमा केबुलकार सञ्चालनमा ल्याउन उहाँको ठुलो देन मानिएको छ । निर्माणाधीन केबुलकार आउदो दसैँसम्ममा सञ्चालनमा आउने बताइएको छ । आफूले पदमा रहेर अथवा नरहेर आफ्नो क्षेत्रको विकासमा काम गरेको उल्लेख गर्दै थापाले अझै धेरै विकासका सम्भावना रहेको र ती सम्भावनालाई  पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँर पनि क्षेत्र नम्बर २ का लागि नयाँ हुनुहुन्छ  । २०५६ सालदेखि नेपाल टे«ड युनियन कांग्रेस केन्द्रको सदस्यबाट राजनीतिमा जोडिएका स्वाँर हाल युनियनको विज्ञ सल्लाहकार रहेको बताउनुहुन्छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष स्वाँरको स्थायी ठेगाना लम्कीचुहा नगरपालिका–८ भए पनि उहाँ काठमाडाैँ बस्दै आउनुभएको छ । आफ्नो उम्मेदवारी जनताका समस्या समाधान गर्न रहेको उहाँको भनाइ छ । 

त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट नन्दबहादुर साउद (राजेन्द्र) उम्मेदवार हुनुहुन्छ । उक्त क्षेत्रमा उहाँ पनि पहिलो पटक प्रतिनिधि सभा चुनावमा उम्मेदवार हुनुहुन्छ । २०७४ सालमा नेकपा (माओवादी केन्द्र) बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार अरुण चैधरीलाई पराजित गरी उहाँ विजयी हुनुभएको थियो । साउदले राष्ट्रिय मुद्दालाई बलियो बनाउन, अग्रगमनविरुद्ध लाग्न, आफ्ना क्षेत्रका अधुरा योजनालाई पूर्णता दिन प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेको बताउनुभयो ।

नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट पतिराम चौधरी उम्मेदवार हुनुहुन्छ । दुई दशक सामाजिक क्षेत्रमा काम गरेका चौधरी पहिलो पटक उन्मुक्ति नेपालबाट उम्मेदवार बनेको बताउनुहुन्छ । उहाँ त्यस क्षेत्रका लागि नयाँ हुनुहुन्छ । आफ्नो क्षेत्रको समग्र विकासका लागि आफू उम्मेदवार बनेको चौधरी बताउनुहुन्छ । मोहन्याल गाउँपालिका, लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका र जानकी गाउँपालिका क्षेत्र नम्बर २ अन्तर्गत पर्छन् । यस क्षेत्रमा एक लाख सात हजार ७५५ जना मतदाता छन् । त्यसमा ५२ हजार ६६९ पुरुष र ५५ हजार ८६ जना महिला मतदाता छन् ।