काठमाडौँ, माघ १६ गते । नक्सालस्थित केन्द्रीय बहिरा माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहायता प्रदान गरिएको छ । दक्षिण कोरियाको डेगुमा अवस्थित ग्वाङ्म्योङ स्कूल फर द भिजुअल इम्पेयड्र्सका विद्यार्थीले सञ्चालन गरेका परोपकारी अभियान कला बजारमार्फत प्राप्त आम्दानीबाट उक्त सहयोग प्रदान गरिएको हो ।
दक्षिण कोरियाको चाङवान नेशनल विश्वविद्यालयले लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल को अपरेसन (लुपिक) परियोजनाको समन्वयमा उक्त सहायता हस्तान्तरण गरिएको हो । सहयोग गरिएका वस्तुहरूमा दुईवटा कम्प्युटर कक्षाको लागि आवश्यक पर्ने सामग्री, टोनरसहितको लेजर प्रिन्टर, प्रिन्टिङ पेपर, दश वटा ब्याडमिन्टन सेट र दशवटा सकर बलहरू छन् ।

यी स्रोतहरूले डिजिटल सिकाइमा पहुँच सुधार गर्न, शिक्षण क्षमता बढाउन र दृष्टिविहीनता भएका विद्यार्थीहरूका लागि शारीरिक गतिविधिलाई बढावा दिन योगदान दिने अपेक्षा गरिएको लुपिकका निर्देशक प्राडा दे युङ् जुङले बताउनुभयो ।
उक्त सहयोग नेपालका विद्यालयमा सिकाइ वातावरण र विद्यार्थीको भलाइलाई प्रत्यक्ष रूपमा सहयोग गर्ने शैक्षिक र खेलकुद स्रोतहरू उपलब्ध गराउने उद्देश्यले प्रदान गरिएको पनि जुङले बताउनुभयो ।
ग्वाङम्योङ स्कूल दृश्य अपाङ्ता भएका विद्यार्थीहरूको शिक्षाको लागि कोरियाको प्रारम्भिक संस्थाहरू मध्ये एक हो । यो संस्था पास्टर ली यंग–सिकद्वारा स्थापना गरिएको हो । दृश्य अपाङता भएका व्यक्तिहरूका लागि शैक्षिक अधिकार, स्वतन्त्रता र सामाजिक सहभागितालाई अगाडि बढाउने क्षेत्रमा यो संस्था क्रियासिल छ ।
लुपिक परियोजनाले अन्तर्राष्ट्रिय शैक्षिक एकताको सुविधा दिने लुपिक परियोजनाका व्यवस्थापक किम युनयोङले बताउनुभयो । विद्यार्थीहरूको सक्रिय सहभागिता र राष्ट्रिय सिमानाबाहिर शिक्षाको मूल्य साझा गर्ने प्रतिबद्धता झल्काउँदै विद्यार्थीद्वारा सिर्जना गरिएका कलाकृतिहरूको बिक्रीबाट रकम उठाइएको थियो ।