• १६ माघ २०८२, शुक्रबार

काठमाडौँमा पाकिस्तानी कला प्रदर्शनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १६ गते । काठमाडौँस्थित पाकिस्तानी दूतावासले नेपाली कलाकारको कुचीमार्फत पाकिस्तानी रङ शीर्षकको कला प्रदर्शनी र कलाकार वार्ता आयोजना गरेको छ । दूतावासपरिसरमा बिहीबार आयोजित प्रदर्शनीमा नेपाली कलाकार विधाता केसीका सिर्जना प्रस्तुत गरिएका थिए । यो उहाँको कलात्मक यात्रा र पाकिस्तानमा अनुभवबाट प्रेरित रहेको दूतावासले जनाएको छ ।

त्यस अवसरमा कालाकार केसीले पाकिस्तानमा दक्षिण एसियाली देशका लागि कलाकारको आवासीय कार्यक्रममा भाग लिँदाका आफ्ना अनुभव प्रस्तुत गर्दै पाकिस्तानको आफ्नो यात्रा र रचनात्मक अभिव्यक्तिलाई प्रेरित गर्ने समृद्ध कलात्मक, सांस्कृतिक र सामाजिक प्रभावबारे चर्चा गर्नुभयो । 

उहाँले आफ्ना कलाकृतिमार्फत पाकिस्तानको जीवन्त परिदृश्य, सम्पदा र सांस्कृतिक विविधतालाई चित्रण गर्दै आवासीय कार्यक्रममा भाग लिने अवसर प्रदान गरेकामा हार्दिक आभार व्यक्त गर्नुभयो । नेपालका लागि पाकिस्तानका राजदूत अबरार हास्मीले सांस्कृतिक कूटनीति पाकिस्तान–नेपाल सम्बन्धको एक महत्वपूर्ण स्तम्भ बनेकोलाई महत्व दिनुभयो । उहाँले कलाकारको असाधारण काम र नेपाली दृष्टिकोणबाट पाकिस्तानको रचनात्मक व्याख्याका लागि प्रशंसा गर्दै दुई देशबिचको साझा इतिहास, संस्कृति र पारस्परिक समझदारीलाई प्रवर्धन गर्ने दूतावासको प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो ।

सहभागीले कार्यक्रम आयोजना गर्ने पाकिस्तानी दूतावासको प्रयासको पनि प्रशंसा गरे र विधाताको काममा प्रदर्शन गरिएको कलात्मक उत्कृष्टता र विचारशील अभिव्यक्तिको प्रशंसा गरे । यस अवसरमा पाकिस्तान खाद्य महोत्सव ५ देखि ७ फेब्रुअरी २०२६ सम्म काठमाडौँमा आयोजना हुने घोषणा पनि गरियो, जसले नेपाली जनतासँग पाकिस्तानको समृद्ध सांस्कृतिक सम्पदा र पाककला परम्परा मनाउने अर्को अवसर प्रदान गर्ने छ ।