• १६ माघ २०८२, शुक्रबार

विदेश जाने दक्ष श्रमिक घटे

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ १६ गते । वैदेशिक रोजगारीमा दक्ष भएर जानेको श्रमिकको सङ्ख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को छ महिना र चालु आव २०८२/८३ को तथ्याङ्क हेर्दा पछिल्लो वर्ष दक्ष भएर जाने सङ्ख्या घटेको देखिएको हो । 

विभागका अनुसार विभागका चालु आवको छ महिनामा चार लाख दुई हजार ७४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकामा दक्ष भएर जाने दुई लाख ५० हजार (६४ प्रतिशत) युवा छन् । 

गत आवको सो अवधिमा चार लाख ६५ हजार ५०७ जना श्रम स्वीकृति लिएर गएकोमा तीन लाख ३५ हजार ७५८ जना (७२ प्रतिशत) दक्ष थिए । गत आवको सो अवधिमा अर्धदक्ष ५९ हजार १२१ जना गएकामा चालु आवको सो अवधिमा अर्धदक्ष ५९ हजार ६२४ जना गएका छन् । यस्तै गत आवको सो अवधिमा ५९ हजार ५२४ अदक्ष कामदार वैदेशिक रोजगारीमा गएकोमा चालु आवको सो अवधिमा ९३ हजार ५५० अदक्ष कामदार गएको देखिन्छ । 

यस्तै गत आवको सो अवधिमा उच्च दक्ष (इन्जिनियर, बैङ्कर, नर्स, चिकित्सक) लगायतका काम गर्न जानेको सङ्ख्या एक हजार ९३८ थियो भने चालु आवको सो अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकामध्ये दुई हजार ४७८ जनाले श्रम स्वीकृति लिएका छन् । 

विभागका उपमहानिर्देशक चन्द्रबहादुर सिवाकोटीले चालु आवमा वैदेशिक रोजगारीमा पुनः स्वीकृति लिएर जानेभन्दा नयाँ श्रम स्वीकृति लिएर जाने धेरै भएकाले दक्षको सङ्ख्या यस पटक घटेको हुन सक्ने बताउनुुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीमा गएर पुनः श्रम स्वीकृति लिन आएका श्रमिक सिप परीक्षण गरेर वैदेशिक रोजगारीमा जान्छन् । कतिपय स्वदेशमै छोटो अवधिका सिप सिकेर जान्छन् । श्रम गन्तव्य देशबाट नेपालका लागि आउने कतिपय मागमा नै अदक्ष श्रमिक भनेर आउने भएकाले नै अदक्ष धेरै भएको हुन सक्ने बुझाइ सिवाकोटीको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु गरेको छ । कार्यविधिमा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाँदा अनिवार्य सिप तालिम लिनुपर्ने व्यवस्था छ तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । 

वैदेशिक रोजगारविज्ञ रामेश्वर नेपालले वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन सिप विकास तालिम कार्यविधि प्रभावकारी रूपमा कार्यान्वन हुन नसकेको बताउनुुभयो ।