धनगढी समाचारदाता
धनगढी, माघ १५ गते । प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनले युवाका लागि अवसरको ढोका खोल्नेमा युवापुस्ता आशावादी देखिएका छन् । धनगढीमा भएको प्रदेशस्तरीय युवा मञ्चमा सहभागी भएका उनीहरू फागुन २१ को निर्वाचनले युवालाई नेतृत्व र अवसर दिनेमा आशावादी देखिएका हुन् । जेनजी आन्दोलनपछि भएको राजनीतिक परिवर्तनले युवामा एउटा सकारात्मक तरङ्ग पैदा गरेको उनीहरूको ठम्याइ छ ।
युवा सहभागिता र अवसरका लागि काम गर्दै आउनुभएकी गङ्गा भण्डारीले पछिल्लो राजनीतिक परिवर्तनसँगै युवाले अवसर पाउने आशा बढेको बताउनुभयो । “अहिले हामी युवा समालिएका छौँ,” उहाँले थप्नुभयो, “अहिलेको निर्वाचनप्रति एकदम एक्साइटेड पनि छौँ । युवाले केही पनि गर्न सक्दैनन् भन्दा पनि अब युवालाई अवसर दिनु पर्छ । मुलुकमा अब केही हुन्छ भन्ने आशा पनि पलाएको छ ।”
सुशासन, भ्रष्टाचारको अन्त्य र सहभागिताको खोजी गर्दै जेनजी युवापुस्ताले गएको भदौ २३ र २४ गते आन्दोलन गरेका थिए । त्यो आन्दोलनपछि मुलुकमा परिवर्तन हुनु पर्छ भन्ने मान्छेमा एउटा सोच आइसकेका बेला आशासँगै भोलि के हुने, कसो हुने भन्ने शङ्का पनि मनमा रहेको युवाले बताएका छन् । पहिलेको निर्वाचनभन्दा अहिलेको निर्वाचनमा युुवाको सहभागिता बढी रहेका कारण बढी आशावादी रहेको जेनजी सुदूरपश्चिम नेतृत्वकर्ता सरिता जोशीले बताउनुभयो ।
उहाँले अबको निर्वाचनपछि जेनजी आन्दोलनमा उत्रेका जनताले न्याय पाउने हो कि होइन भन्ने चिन्ता र प्रश्न सबैको मनमा रहेको उल्लेख गर्दै थप्नुभयो, “अहिले सचेत युवाको बढी पार्टीसिपेसन भएका कारणले पनि हामी बढी आशावादी छौँ तर आशावादी छौँ भन्दैमा सबैलाई प्रश्न गर्नचाहिँ छोड्नुहुन्न । परिवर्तनका लागि नयाँ आएका नेतृत्वलाई हामीले प्रश्न गरेनौँ भने ती पनि पहिलेका जस्तै नहोलान् भन्न सकिन्न । हामी भोटर हो, हामीले प्रश्न गर्नु पर्छ ।”
जेनजी पुस्ताको आन्दोलनपछि दलले युवालाई गर्ने पहिले र अहिलेको व्यवहारमा फरक आएको युवाको ठम्याइ छ । पहिले युवालाई भोटर र नारा लगाउनेका रूपमा मात्रै हेरिएको कुसुम विसीले बताउनुभयो । “अहिले भने युवालाई ठुलो अवसर दिइएको छ,” उहाँले भन्नुभयो, “अब युवालाई कसैले बेवकुफ बनाउन सक्दैनन् ।” चुनावबाट छानिएका व्यक्तिबाट युवाको पक्षमा उपलब्धिपूर्ण काम हुन्छ की हुँदैन, देशमा परिवर्तन हुन्छ कि हुँदैन भनेर युवाले अहिल्यैदेखि प्रश्न गर्न आवश्यक रहेको विसीको भनाइ थियो ।
युवा परिवर्तनका संवाहक रहेकाले परिवर्तनका लागि युवाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको ठम्याइ छ । अहिलेसम्म जे जति हिसाबले युवालाई प्रयोग गरियो त्यो सबै एउटा राजनीतिक भ¥याङका रूपमा मात्रै प्रयोग गरिएकाले अब राजनीतिमा युवा हुनुपर्ने विशेष क्षमताका युवा नन्दराज भट्टले जिकिर गर्नुभयो । अहिले युवामा जागरण आएको चर्चा गर्दै उहाँले थप्नुभयो, “यो जागरणले पक्कै केही न केही सङ्केत गरेको छ । अब पोलिटिक्समा युवा सहभागिता परिवर्तन र विकासका लागि हुनु पर्छ ।”
जेनजी आन्दोलनपछि मुलुकमा सिर्जना भएको फरक राजनीतिक वातावरणले यौनिक तथा अल्पसङ्ख्यक समुदायको मुद्दा पनि समावेश गर्ने आशा पलाएको सो समुदायका युवा वीरेन्द्र चौधरीले बताउनुभयो । अब बन्ने सरकारले सबैको मुद्दालाई समावेशी ढङ्गले उत्थान गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।