बाजुरा समाचारदाता
बाजुरा, माघ १५ गते । बाजुराका महिलालाई चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिन भ्याइनभ्याइ छ । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा विवाह गरेर घरमा रहेकी चेलीलाई माघ महिनाभरि चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिने प्रचलन छ । त्यही प्रचलन अनुसार महिलालाई आफ्ना चेलीलाई चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिने चटारो परेको हो ।
प्रत्येक वर्षको माघ १ गतेदेखि अन्तिमसम्म स्थानीयले विवाह गरेर श्रीमान्को घर गएकी चेलीलाई चेलत्यार दिने प्रचलन कायमै रहँदै आएकाले यहाँका महिलालाई यतिबेला चेलत्यार दिने चटारो परेको बुढीगङ्गा नगरपालिका–४, बानेगाउँकी सरिता खत्रीले बताउनुभयो । उहाँले भन्नभुयो, “माइती घरदेखि विवाह गरेर पोइलीघर गएकी जुनसुकै छोरीलाई यो माघ महिनाभित्र अर्थात् माघ अन्तिमसम्म चेलीलाई उनकै घरमा गएर उक्त ‘चेली त्यार’ (त्यारमाडो) दिने चलन छ ।” आफ्नो माइती नभएका अर्थात् आमाबुवा, दाइ, भाउजू नभएका छोरीचेलीलाई भने यो महिना निकै खल्लो हुने गरेको खत्रीले बताउनुभयो ।
बाजुरामा माघको महिनाभरि माइतीले छोरीलाई रोटी अर्थात् त्यार दिने गर्छन् । माइतमा कोही नभएका दिदीबहिनीलाई माघ महिनाभरि बस्न मुस्किल हुन्छ । माइती पक्षका कोही नभएका छोरीचेली प्रायः यो महिनाभरि जङ्गलमा घाँस काट्न जाँदा होस् वा अन्य एकान्त ठाउँमा गएर विरहका गीतसमेत गाएरै बिताउने गर्छन् ।
माघ महिनाभरि छोरीचेली कहिले माइती आउलान् र त्यारमाडो अर्थात् ‘चेली त्यार’ (सेलपुरी बनाएर चेलीलाई दिने काम) ल्याउलान् भन्ने पर्खाइमा हुन्छन् । माघ महिना चेलीहरूको माइती गाउँदेखि त्यार ल्याउने आशलाग्दो महिना हो । प्रायः यो महिनाभरि यहाँका धेरै महिला दिदीबहिनी माइती घरदेखि पाहुनाको पर्खाइमा बस्ने गर्छन् । उनीहरू बिहान बेलुकीसम्म कोही आउँछन् कि भन्ने आशमा बस्ने गर्छन् । सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ, बैतडी, डडेलधुरा तथा डोटीमा पनि छोरीलाई त्यार दिने अर्थात् ‘चेली त्यार’ दिने प्रचलन कायमै छ ।
छोरीलाई दिइने त्यारमा सेल, मास लगाएको पुरी, सुदूरपश्चिमको प्रख्यात रोटी भुने (चामलको पिठोबाट बनेको), माडालगायतका परिकार पकाएर छोरी पक्षकालाई करिब हप्ता दिन पुग्ने गरी दिने चलन छ । माघ महिनाभर सुदूरपश्चिमका कैलाली, कञ्चनपुरबाहेक अन्य सबै जिल्लामा जताततै कोसेली बोकेर छोरीज्वाइँको घर गइरहेका आमाहरू प्रशस्तै भेटिने गर्छन् ।
माघ महिनाभित्र त्यार दिइसक्नु पर्छ । यदि यो महिनाभित्र त्यार दिन सकिएन भने फागुनको १/२ गतेसम्म पनि दिनुपर्ने हुन्छ । माघ महिनाभित्र त्यार दिन नसकेपछि फागुनमा त्यार दिँदा चोली र गुनियोसमेत दिनुपर्ने प्रचलन रहिआएको छ ।