• ३ असार २०८१, सोमबार

सङ्घीयता अनुकूल सांस्कृतिक नीति बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

blog

तस्बिर : पर्यटनमन्त्रीको सचिवालयबाट

काठमाडौं, असार ३१ गते  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सङ्घीय नेपालमा भाषाको संरक्षण र संवर्द्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

जनकपुरधाममा नेपाल विद्यापति पुरस्कार कोषले आयोजना गरेको नेपाल विद्यापति पुरस्कार अर्पण कार्यक्रममा मन्त्री श्रेष्ठले सीमान्त समुदायको भाषा, साहित्य र कला संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न समयानुकूल सांस्कृतिक नीति छिट्टै तर्जुमा गरिने बताउनुभयो हो । भाषिक र सांस्कृतिक विविधतासहितको हाम्रो मुलुकले विविधताभित्र एकताको सन्देश दिन सक्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल विद्यापति पुरस्कार २०७८ बाट पाँचजना स्रष्टालाई पुरस्कृत गर्नुभयो ।

नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट रमेशरञ्जन झा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कारबाट निर्मला झा र अशोककुमार दत्त, नेपाल विद्यापति अनुसन्धान पुरस्कारबाट सूर्यप्रसाद यादव र अर्जुनप्रसाद गुप्ता पुरस्कृत हुनुभएको छ ।

चौधौं शताब्दीका प्रसिद्ध कवि विद्यापतिको नाममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रधानमन्त्रित्वकालमा कोष स्थापना भइ मैथिली भाषाका स्रष्टाहरलाई सम्मान गर्न सुरु गरिएको थियो । यो कदम नेपालमा दोस्रो सबैभन्दा बढी बोलिने मैथिली भाषाप्रतिको सम्मान भएको मन्त्री श्रेष्ठको भनाइ छ ।

विद्यापतिद्वारा रचित गीतहरु अहिले पनि मिथिलावासीको जनजिब्रोमा झुण्डिएको छ भने बङ्गाल, उडिसा, असम र काठमाडौंका मन्दिरहरुमा भजनका रुपमा गुञ्जिदै आएको छ । विद्यापतिका गीत र रचनाहरु नेपाली अभिलेखालयमा सुरक्षित रहनु गौरवको विषय भएको मन्त्री श्रेष्ठ बताउनुहुन्छ ।